प्रदेश–१

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै एमालेकै नेता भीम आचार्यले मुख्यमन्त्रीमा शपथ लिनुभएको छ । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाउनुभएको हो ।


त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता पनि बनाइएको थियो । यसअघि माधवकुमार नेपाल समूहमा रहेका नेता आचार्यले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए ।


लामो समयदेखि झलनाथ खनाल–माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव आचार्यले पार्टी विभाजनका बेला साथ छाड्नुभएको थियो । अध्यक्ष केपी ओलीले यसअघि नै प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि आचार्य एकता अभियानमा सक्रिय हुनुभएको थियो । नेकपा समाजवादी दलले मान्यता पाएपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ ।