Breaking

नेपालमा फुटबल प्रशिक्षकको इतिहास, ४ दशकमा कुन प्रशिक्षकले दिलाए नेपाललाई उपाधि


काठमाडौँ — हाल नेपाली फुटबलमा खेल र खेलाडीको भन्दा प्रशिक्षकको बढी चर्चा छ । हालका प्रशिक्षकको जस्तो चर्चा विगतमा नेपाली फुटबल प्रशिक्षकको सायदै हुन्थ्यो । नेपाली फुटबल प्रशिक्षणमा यस अघिका प्रशिक्षकहरुको भूमिका कस्तो थियो त ? नेपाली फुटबल टीमले हालसम्म स्वदेशी र विदेशी गरी जम्मा २६ जना प्रशिक्षक बेहोरिसकेको छ । ४ दशकको अन्तरालमा नेपाली फुटबलले धेरै प्रशिक्षक पाउँदा लामो समय भने कोही पनि टिक्न सकेका छैनन् । नेपाली फुटबलको पहिलो प्रशिक्षकको रुपमा जर्मनी नागरिक रूडी गुन्टेडोर्फ नियुक्त भएका थिए ।

उनले सन् १९८१ देखि ८२ र १९८६ गरी दुई कार्यकाल प्रशिक्षकको जिम्मेवारी सम्हाले । त्यसबीचको समयमा सन् १९८४ देखि ८५ सम्म जर्मनीकै जोकन फिगे प्रशिक्षक बने । दुई जर्मनी नागरिकपछि १९८७ मा आयरल्याण्डका जो किन्नेअरले नेपाली टिमको प्रशिक्षण सम्हाले । त्यस्तै, सन् १९८९ मा फेरि जर्मनकै रीनहार्ड फेबिस नेपाली टिमको प्रशिक्षक बने । प्रशिक्षणको लगभग १० वर्षसम्म आईपुग्दा नेपालीले नै राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी पायो ।

लगातार युरोपकै प्रशिक्षकको प्रयोग गर्दै आएकोमा सन् १९८९ देखि ९१ सम्म धनबहादुर बस्नेतले नेपाली टिममा प्रशिक्षकको भूमिका निर्वाह गरे । उनी १९९३ र १९९७ मा पनि राष्ट्रिय टिमको प्रशिक्षक बने । सन् १९९१ देखि ९३ सम्ममा मात्रै तीन जना प्रशिक्षकले नेपाली टोली सम्हालेको इतिहास छ । बस्नेत, महेश्वर मुल्मी र जर्मनीका होल्गर ओभरमनले राष्ट्रिय टोलीलाई सम्हाले । मुल्मी १९९५ र २००१ मा पनि पुन प्रशिक्षकमा नियुक्त भएका थिए ।

१९९५, १९९७ र २००९ मा योगम्बर सुवालले नेपाली टोलीको जिम्मेवारी आफ्नो काँधमा लिए । १९९६ मा भीम थापाले पनि राष्ट्रिय टोलीलाई सम्हाल्ने मौका पाए । युरोप र स्वदेशी प्रशिक्षकको रणनीतिपछि फरक स्वादसहित नेपालले एसियाको बलियो राष्ट्र दक्षिण कोरियाबाट प्रशिक्षक झिकाए । सन् १९९८ र २००३ मा यु की ह्युङ राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भए । जर्मन टोर्सेन स्पिट्टरले १९९९ मा प्रशिक्षणको नेतृत्व गरे । भारतको राष्ट्रिय फुटबल टोलीलाई उचाईमा पुर्याएका स्टेफिन कन्स्टेन्टाइन १९९९ देखि २००१ सम्म नेपालमा रहे ।

पहिले नै नेपाली प्रशिक्षकको रुपमा काम गरिसकेका युकीपछि २००५ देखि ०६ सम्म जापानका तोसिहिको सिओजावाले राष्ट्रिय टोली सम्हाले । उनीपछि २००६ देखि ०७ सम्म भारतीय मुलुकका श्याम थापा प्रशिक्षक बने । त्यसपछि एक वर्षको समयमा नेपालले तीन जना प्रशिक्षक पायो । २००८ मा थोमस फ्लथ, बालकृष्ण श्रेष्ठ र कृष्ण थापाले २०११ सम्म प्रशिक्षकको रुपमा काम गरे ।

बेलायती नागरिक ग्राहम रोबर्टसले २०११ देखि १२ सम्म नेपाली टोलीलाई प्रशिक्षण दिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक विश्वकपको दोस्रो चरणमा स्थान बनाएको थियो । २०१३ देखि १५ सम्म ज्याक स्टेफानोस्कीले टोली सम्हाल्दा बीचमा राजुकाजी शाक्यले पनि प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका पाए । २०१५ मै ध्रुव केसी पनि केही समयका लागि प्रशिक्षक बने । सन् २०१५ देखि १६ सम्म बेल्जियम प्रशिक्षक प्याट्रिक ओजेम्सले नेपाली टोलीलाई प्रशिक्षण दिए । २०१६ मा छोटो समयका लागि बालगोपाल महर्जन प्र्रशिक्षकमा नियुक्ति भएसँगै नेपालले भोग्दै आएको उपाधिको खडेरी तोडियो । महर्जनले बगबन्धु कपको उपाधि उचाल्दै २३ वर्षपछि सारा नेपालीलाई प्रमुख उपाधिको स्वाद चखाए ।

२०१६ देखि दुई वर्ष कार्यकाल सम्हालेको जापानका कोजी ग्योटोकुले नेपाललाई पहिलो पटक एएफसीले आयोजना गर्ने सोलिडारिटी कपको उपाधि दिलाए । ०१८ मा फेरि पनि बालगोपाल महर्जन नै प्रशिक्षक बने । २०१९ देखि २०२० सम्म स्वीडेनिस योहान कालिन राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा देखिए । कालिनपछि हालको कुवेती नागरिक अब्दुल्ला अल्मुताईरीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्हालि रहेका छन् । नेपालमा सफल प्रशिक्षकको कुरा गर्दा सर्वप्रथम अल्मुताईरीको नै नाम आउँछ ।

साफ च्याम्पियनको फाइनल खेलाउनु बाहेक अन्य कुनै उपलब्धि दिलाउन नसकेको अल्मुताईरीलाई अधिकांश नेपाली दर्शकले हाल सम्मकै सफल प्रशिक्षकको रुपमा हेरेको पाइन्छ । तर, नेपालको २३ वर्ष लामो उपाधि खडेरी तोडेका बालगोपाललाई भने छायाँमा पारिएको छ । त्यस्तै एएफसीको सोलिडारिटी कप जिताएका कोजी ग्योटोकुको नाम त अधिकांश खेलप्रेमीहरुले विर्सिपनि सके । त्यसो त खेल भन्दा पनि आफ्नो अभिव्यक्ति र व्यवहारको कारण छाहिरहने अल्मुताईरीलाई मात्रै सफल प्रशिक्षकको रुपमा हेरिनु अन्य प्रशिक्षक माथिको अन्याय त होइन ?