देश

दशैं नजिकिएसँगै नारायणगढ–बुटवल सडकखण्ड मर्मतको कार्य सुरु


काठमाडौँ – नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गर्ने तथा सडकको बढी भत्किएका ठाउँहरुमा दुई लेन सडक पिच गर्नेछ ।

नारायणगढ–बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले सडक विस्तारको काम निकै ढिला भएको बताए । पूर्वी खण्डमा अहिलेसम्म जम्मा ८.५ प्रतिशत मात्रै काम भएको छ जबकि यतिबेलासम्ममा ५० प्रतिशतभन्दा बढी काम भइसक्नु पर्ने थियो । ठेकेदार कम्पनीले दशैं अघि सहज यात्राको वातावरण बनाउने प्रतिवद्धता जनाएको छ ।

सडक विस्तारको ठेक्का सम्झौता २०७५ पुसमा भएको थियो । सम्झौता अनुसार २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्छ । नेपालीहरुको ठूलो पर्व दशैं नजिक आउन थालेपछि सडक मर्मतको काम थालिएको हो ।