Breaking

चीनले बन्द गर्‍यो पोटला दरबार


काठमाडौँ — तिब्बतको चर्चित पोटला दरबार बन्द भएको छ । तिब्बतमा कोभिड-१९ का संक्रमित फेला परेसँगै उक्त दरबार बन्द गरिएको हो ।

चीनले निरन्तर शून्य कोभिडको नीति लिँदै आएको छ । सोहीअनुसार संक्रमण फैलिन नदिन अधिकारीहरुले विशेष सतर्कता अपनाएका हुन् । चीनले कोरोना संक्रमण देखिएका स्थानमा लकडाउन, नियमित परीक्षण,क्वारेन्टिन र भ्रमणमा प्रतिबन्धजस्ता नियम लगाउँदै आएको छ ।
तिब्बतका बौद्ध गुरुहरुको परम्परागत घरको रुपमा रहेको पोटला दरबारले मंगलबारदेखि बन्द भएको सामाजिक सञ्जाल वेइसिनमा जानकारी दिइएको छ। यो दरबार कहिले खुल्छ भन्ने विषयमा पछि जानकारी दिइने उल्लेख गरिएको छ ।

तिब्बतको अर्थतन्त्र धेरै मात्रामा पर्यटनमा निर्भर छ। पोटला तिब्बतका प्रमुख पर्यटकीय आकर्षणको केन्द्र पनि हो । चीनले आफ्नो शून्य कोभिडको नीति संक्रमण नियन्त्रण तथा मृत्युदर घटाउनको लागि निकै प्रभावकारी रहँदै आएको दाबी गरेको छ ।

मंगलबार चीनमा ८२८ आन्तरिक स्रोतबाट सरेका संक्रमित फेला परेका छन् । जसमध्ये अधिकांशमा कुनै लक्षण छैन । यसैबीच चीनको दक्षिणी रिसोर्ट टापु हेइनानमा लगाइएको लकडाउनको कारण ८० हजारभन्दा धेरै पर्यटक फसेका छन् । उनहरुले सहर छाड्न आगामी दिनमा निरन्तर कोरोना परीक्षण गर्दै नेगेटिभ नतिजा आउनु जरुरी हुन्छ ।