अर्थनीति

चरम संकटमा गुज्रिरहेको अर्थतन्त्र उकास्न सरकारको ध्यान गएन, किन भैरहेछ मूल्यवृद्धि (भिडियोसहित)


काठमाडौँ — मुलुकभित्र सरकार छ, सत्ता गठबन्धनले मुलुकको राजनीति हाँकिरहेकै छ । तर कोरोना महामारीबाट प्रताडित आम सर्वसाधरणले मुलुकमा सरकार हुनुको अनुभव गर्न पाएका छैनन् । भयवह बन्दै गएको अर्थतन्त्र, अभावपूर्ण स्वास्थ्य सेवा र आकाशिएको बजार भाउले स्वयं सरकारलाई नै गिज्याइरहेको छ ।

अस्पतालले समयमा उपचार गर्न आनाकानी गरेकै कारण विहिबार एक क्रियाशिल पत्रकारको ज्यान गयो । टिभि टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको निधनपछि मुलुकभित्रको स्वास्थ्य प्रणालीप्रति प्रश्न चिह्न खडा भएको छ । के पैसा नभएकाहरुले यो मुलुकमा उपचार नै नपाउने हो ? दैनिक ज्याला मजदुरी गर्ने, अझ विहान खाए बेलुका के खाउँ भन्ने अवस्थाका भएका सर्वसाधरण विरामी भैहाले मृत्युवरण गर्न बाध्य हुनै पर्ने हो ? महामारीमा जनताप्रति सरकारको कुनै दायित्व हुँदैन ? पत्रकार विश्वकर्माको निधनपछि यी प्रश्न अधिकांशको मनमा खड्किएको छ । त्यति मात्र होइन महामारीका बेला पैसा तिर्छु भन्दा पनि सिटामोल जस्तो अतिआवश्यक औषधि समेत पाउन मुस्किल छ । सरकारी संयन्त्र कमजोर हुँदा सिटामोलको अभाव सृजना गराइएको उपभोत्ताकर्मीहरुको आरोप छ ।

खोप लगाउन घण्टौ लाइन बस्नुपर्ने बाध्यता एकातर्फ छ, अर्कोतर्फ नागरिकलाई खोप कार्डको बाहनामा घरबाहिर निष्कन बन्देज गरिएको छ । सर्वसुलभ खोपको व्यवस्था नभएसम्म खार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गरिनु आफैमा जायज निर्णय मान्न सकिँदैन । कोरोना महामारीले समग्र स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । बजारको अवस्था अझ नाजुक बन्दै गएको छ । नेपाल राष्ट्र वैकको पछिल्लो तथ्याङक अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मुल्यवृद्धि ७.११ प्रति बढेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति अर्थात मुल्यवृद्धि ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुल्यवृद्धि ८.२५ प्रतिशत छ ।

कोरोनाको तेस्रो लहर बढेसँगै मास्क लगायतका अतिआवश्यक वस्तुहरुको मुल्य बढ्न थालेको छ । दैनिक उपभोग्य खाद्यन्न, तरकारीको बजार भाउ अनियन्त्रीत छ । कोरोना महामारी भन्दा महंगीको महामारीले नागरिक प्रताडित छन । अन्तराष्ट्रिय बजारमा पेट्रोलको मुल्य थपघट भए पनि नेपालमा भने पेट्रोलको निरन्तर उकालो लागेको छ । खानेतेल, दाल, चामल, लगायत अतिआवश्यक सबै कुराको भाउ आकाशिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले भने झुठो तथ्यांकको साहरामा आफ्नो सरकारको बखान गर्नमै व्यस्थ छन् । शुक्रबार मात्र सरकार गठन भएपछि पहिलोपटक देशबासीका नाममा सम्बोधन गरेका देउवाले जनताको राहतका खातिर दुई शव्द पनि खर्चिन सकेनन् ।
गैर जिम्मेवार सरकारले महामारीमा पनि नागरिकलाई सरकार हुनुको अनुभुत गराउन सकेको छैन । सरकार आफै सीमित लाभमा लिप्त हुँदा जनताले सरकार हुनुको महशुस गर्न सकेको छैन ।

बजारमा महंगी र मुल्यवृद्धिको आँकडा डर लाग्दो छ । हरेक सामानको मुल्य आकाशिएको छ । मुल्य वृद्धि भए पनि नागरिक चुप नै छन । सरकार मुखदशक छन । अनुगमन गर्ने निकाय योजनामुखी नहुँदा अनुगमन पनि प्रभावकारी हुन सकेको छैन । मूल्यबृद्धिविरुद्ध विद्यार्थी संगठनहरु सडकमा नउत्रिएका पनि होइनन् तर उनीहरुको विरोध पनि राजनीतिक स्वार्थबाट प्रभावित हुँदा विरोध देखावटी र प्रभावहिन बनेको छ । नागरिक भने कोरोना महामारीसँगै महंगीको सामना गरिरहँदा सरकार भने कानमा तेल हालेर निदाइरहेको छ ।