देश

कहिले सकिन्छ भूकम्पपछिको पुनःर्निमार्ण ? (भिडियोसहित)


काठमाडौँ – विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । साथै पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको श्रोत सुनिश्तिताको आवश्यक व्यवस्थापन मिलाउन पनि नेपाल सरकार र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई समितिले निर्देशन दिएको छ ।

बिहीवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्य अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । समितिले २०७२ सालको महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधारहरु पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ ।

समितिको निर्देशन सुनाउँदै समितिका सचिव ओमबहादुर कार्कीले पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको श्रोत सुनिश्तिताको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई समितिले निर्देशन दिएको बताए ।

त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था मध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको बताए । चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिने उनले बताए । त्यस्तै सरकारी एवं सुरक्षा निकायका भवनहरुमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको उनले बताए । सुरक्षा निकायका भने २१६ वटामा सबै निर्माण सम्पन्न भएको छ ।

त्यस्तै पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणमा १ हजार २९७ गर्नुपर्नेमा ३७३ वटा निर्माण सम्पन्न भइसकेको उनले बताए ।

त्यस्तै सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ । त्यस्तै शिक्षण संस्थाहरुको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकोमा ६ हजार ६४७ वटा सकिएको छ । उनले बजेटको कारण केही कामहरु ढिला भइरहेको समेत उल्लेख गरे ।