समाचार

कक्षा ११ र १२ रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी


काठमाडौँ – कोरोना संक्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी थालेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा र कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको हो ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएममी) सँग स्वीकृति मागेको छ । असारको अन्तिम साता परीक्षा सञ्चालन गर्न स्वीकृति मागिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिनुभयो ।

अवस्था सहज रहे असार मसान्तसम्म कक्षा ११ र भदौ अन्त्यसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै लिन थालेका छन् । साउन मसान्तसम्म कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने तयारी छ । कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार सामान्य अवस्थामा असार मसान्तसम्म परीक्षा लिनुपर्छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले संक्रमण दर घट्दै गए विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्ने जनाए  । ‘यही बेला परीक्षा लिनु भन्न सक्ने अवस्था छैन, भदौअघि कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘विद्यालयले आफ्नै निर्णयमा परीक्षा लिन सक्छन्  ।’

बोर्डले कक्षा ११ का विद्यार्थीलाई एक साताभित्र सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बर उपलब्ध गराउने जनाएको छ । कक्षा १२ को हकमा भने भदौसम्म सकभर पहिले जस्तै लिखित परीक्षा नै सञ्चालन गर्ने योजना बनाइएको अर्यालले जनाए  । ‘कुनै निर्णय त भएको छैन, तर विज्ञहरूको रायसुझावअनुसार कक्षा १२ को परीक्षा सञ्चालन गर्ने नै भन्ने छ,’ उनले भने ।