मनोरञ्जन

‘ऐना झ्यालको पुतली’ ओस्कारका लागि सिफारिस


काठमाडौँ – ९५औं संस्करणको ओस्कार अवार्डका लागि नेपालबाट सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस हुने भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट यस फिल्मलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन भनेको थियो । सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सिना, लोकेन्द्र पराजुली ‘कपिल’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् ।

आगामी वर्षको मार्च १२ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा ओस्कार अवार्डको आयोजना हुँदै छ ।