देश

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह


काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु भएको छ । माथिल्लो भेगमा पहिरोको अवस्था तथा तल्लो तटीय क्षेत्रमा बाढीले गरेको क्षति र नदीको कटान रोक्न तथा क्षति न्यूनीकरण गर्न सम्बन्धित विज्ञसँग सुझाव लिन थालेको मेलम्ची नगरपालिकाले जनाएको छ ।

केन्द्र, प्रदेश सरकार र सरोकारवाला निकायसँगको समन्वयमा आवश्यक बाढी प्रभावितका लागि बसोबासको व्यवस्थासहितका आवश्यक काम थालनी भैसकेको नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र मनसुन कायमै रहेकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमपूर्ण भएको भन्दै नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै उच्च जोखिमका घरमा नबस्न मेलम्चीबासीलाई आग्रह समेत गरेको छ ।

गएको असार १ गते र त्यसपछिको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएपछि पालिकाले बेवास्ता गरेको भन्दै पिडितले आलोचना गर्दै आएका थिए । तर नगरपालिकाले सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्मका प्रयास गरेको जनाएको छ । साथै बाढीपछि तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको, ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनको समेत व्यवस्था गरी सुरक्षित ठाउँमा राखेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

बाढी प्रभावितको सम्पूर्ण विवरण सङ्कलन गरी वर्ग छुट्याएर २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँका दरले तत्कालका लागि प्रभावितको बैंक खातामा जम्मा गर्ने काम सुरु भइसकेको उहाँले बताउनुभयो । अस्थायी आवास निर्माणका लागि सरकारबाट प्राप्त हुने पहिलो किस्ताको ५० हजार रुपैयाँबाट सम्झौता गरी प्रभावितलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको जानकारी दिनुभयो ।

मेलम्ची बजार र फट्टेमा दुई वटा बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकारलाई आग्रह गरिएको छ । साथै स्थायी पुल निर्माणका लागि अध्ययन भइरहेको समेत अपिलमा उल्लेख छ ।