प्रदेश नं. २

इन्टरनेटको पहुँच नभए पनि यसरी भैरहेछ वैकल्पिक विधिबाट पठन–पाठन


काठमाडौँ – कोरोना भाइरसको प्रभावका कारण अहिले देशभरका विद्यालयहरु बन्द छन् । प्रविधिको पहुँच भएका विद्यालयहरुले बैकल्पिक विधिबाट पठन पठान संचालन गर्दै आएका छन् । तर ग्रामिण क्षेत्रका विद्यालयहरु भने आफ्ना विद्यार्थीहरुलाई कसरी पढाउने भन्ने अन्योलमा परेका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले विद्यालय बन्दको घोषणा गरेपछि शिक्षक शिक्षिकाहरु घरमा बसेका विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिने अभियानमा जुटेका छन् । सर्लाहीको बरहथवा नगरपालिकाले बैकल्पिक शिक्षा प्रति कार्ययोजना बनाएर नगरपालिका क्षेत्र भरीका सबै विद्यालयमा बैकल्पिक शिक्षा योजना लागू गरेको छ । विध्याथीहरु इन्टरनेटको पहुँचमा नभएपछि फोनमार्फत नै पढाइ सञ्चालन गर्ने योजना नगरपालिकाले ल्याएको हो ।

कोरोनाको महामारी तथा लकडाउनका कारण बरहथवा नगरपालिका वडा न– सितापुर स्थित महेन्द्र रतन जगरनाथ लक्ष्मीनिया माध्यमिक विद्यालय अहिले सुनसान छ । यस्तो अवस्थामा पनि नगरपालिकाले विद्यार्थीहरुको पढाई र सिकाईलाई निरन्तरता दिने प्रयास गरे पनि विधार्थीहरुलाई प्रविधि मार्फत पढाई गर्न गराउन अहिले हम्मे हम्मे परिरहेको छ ।

उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरु बैकल्पिक मध्यमबाट शिक्षण सिकाई गर्दा धेरैनै समस्या हुने गरेको गुनासो गरेका छन् । उनीहरूलाई खुला स्थान तथा कक्षा कोठामा बसेर पढ्नुको साटो अहिले घरभित्र थुनिएर अध्ययन गर्नुपर्ने बाध्यता आएको छ । बिद्यार्थीहरु नजाने र नबुझेका कुराहरु सम्बन्धित विषयका शिक्षकलाई फोन गरेर सिक्ने गरेका छन् । वैकल्पिक सिकाईको लागि मोबाइल, ल्यापटप, कम्पयुटर र इन्टरनेटको आवश्यक्ता पर्ने भएको तर ग्रामीण भेगका सामुदायिक विद्यालयमा सबैभन्दा बढी विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने भएकाले त्यस्ता सामाग्रीहरु खरिद गरेर प्रयोग गर्न नसकेकोले वैकल्पिक माध्यमबाट गरिने शिक्षण सिकाई प्रभावकारी नभएको जानकारहरु बताउँछन् ।

विधार्थीको पढाईमा क्षति नपुगोस् भनेर नगरपालिकाले लागू गरेको योजनाले गर्दा थोरै भएपनि विधार्थीहरुले राहत महसुस गरिरहेका छन् । सो योजना अनुरुप नगरपालिकाले टोलटोलमा अभिभावकहरुको समूह बनाएको छ ।

विद्यार्थी र अभिभावक सम्मलित समूहलाई विषयगत शिक्षकले बैकल्पिक प्रबिधिको प्रयोग द्वारा सहयोग गर्दै आएको विधालयले जनाएको छ । बिद्यार्थीले पनि नजानेका कुराहरु सम्बन्धित विषयका शिक्षकलाई फोन गरेर सिक्ने गरेका छन् । विद्यार्थीहरु विषयगत शिक्षकलाई फोन गरेर टेलिफोन तथा मोबाइल फोनबाटै सोधपुछ गरी समस्याको हल निकाल्ने गरेकाले अभिभावकहरुलाई समेत वैकल्पिक विधीले गरिने सिकाईले प्रेरित गरिरहेको छ ।

कोभिड महामारीबाट जोगिंदै सिकाईलाई निरन्तरता कसरी प्रदान गर्ने भने बिषयमा युनिसेफको सहयोगमा सिकाइ निरन्तरता अभियान, नेपाल शिक्षक महासंघ र विद्यालय व्यवस्थापन समिति महासंघले प्रभावकारी योजना बनाइ त्यसलाई लागू गरेर नगरपालिकालाई सघाइरहेका छन् । टोलटोलमा बनाईएका अभिभावक समूहहरुले पनि सिकाई निरन्तरता अभियानलाई सहयोग गर्दै आएका छन ।


कोभिड १९ महामारीका कारण विद्यार्थीहरुको पठनपाठनमा परेको असर र अहिलेको परिस्थितिमा उत्पन्न भएका समस्याहरुलाई ध्यानमा राखेर बरहथवा नगरपालिकाले बैकल्पिक प्रबिधि मार्फत पढाईलाइ निरन्तरता दिन बनाएको योजनाले बालबालिकाको सिकाईले निरन्तरता पाएको छ । गत वर्षको लकडाउनमा समेत नगरपालिकाले विधार्थीको पढाईमा बाधा नपुगोस भन्दै रेडियो कार्यक्रमहरु संचालन गरेका थिए ।