बिजनेस

आजदेखि बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर लागू


काठमाडौँ – बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर आजदेखि लागु भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

अब काठमाडौँ उपत्यका लगायत क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै उपत्यका बाहेक अन्य क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातले साबिकको भाडादरमा २३ प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।