समाचार

दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन खुल्यो


काठमाडौँ – दोर्दीखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर निष्कासन गरिसकेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्ट्यइएको सेयर बाँडफाँड गरी बिक्री नभएको दुई लाख ९७ हजार ८४० कित्ता समेत सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँबराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् एक लाख नौ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड भएको छ । बाँकी रहेको २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १७ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा यही जेठ ३१ गते हुनेछ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा आवेदन दिने म्याद असार ९ गतेसम्म लम्बिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा इक्रा नेपाले ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोसेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्यु्त आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत दुई अर्ब ६९ करोड ४४ लाख तीन हजार अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ३३ हजार ५८४ रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।६७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८।०३ वर्ष रहेको छ ।