नेपाली क्रिकेटको प्रमुख प्रशिक्षक छान्न आजबाट अन्तर्वार्ता

नेपाली क्रिकेटको प्रमुख प्रशिक्षक छान्न आजबाट अन्तर्वार्ता

काठमाडौँ  - नेपाली क्रिकेटको प्रमुख प्रशिक्षकको अन्तर्वार्ता आजदेखि सुरु हुँदैछ । प्रशिक्षक बन्न ७२ जनाले आवेदन दिएका छन् । भारतका चेतन शर्मा, श्रीलंकाका पुबुदु दासानायके, अस्ट्रेलियाका डेव ह्वाटमोर, दक्षिण अफ्रिकाका लान्स क्लुसनर र नेपालका शेरबहादुर (सुनील) लामालगायतका छन् । श्रीलंकाका पूर्व विकेटकिपर दासानायके यसअघि ६ वर्ष नेपालको प्रशिक्षक रहेर सन् २०१६ मा फर्किएका थिए । उनको प्रशिक्षणमा नेपालले २०१४ मा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा खेलेको थियो ।

ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो । दक्षिण अफ्रिकी अलराउन्डर क्लुसनर १९९९ को विश्वकपमा म्यान अफ द सिरिज चुनिएका थिए । शर्मा भारतका पूर्व तीब्र गतिका बलर हुन् । क्यानले आवेदन आएकाहरूमध्येबाट छनोट गरी २१ जनामा झारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले त्यसबाट अझ छनोट गर्ने र त्यसबाट अन्तर्वार्ता लिने भएको छ । नेपाल क्रिकेट संघ क्यानले केही समयअघि प्रमुख प्रशिक्षक र क्रिकेट म्यानेजरसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र सात प्रदेशका लागि प्रशिक्षकमा आवेदन खोलेको थियो ।