कोरोना संक्रमित वरिष्ठ चिकित्सक डा. मुडभरीको निधन

कोरोना संक्रमित वरिष्ठ चिकित्सक डा. मुडभरीको निधन

काठमाडौँ  -  वरिष्ठ शल्यचिकित्सक ध्रुब शर्मा मुडभरीको निधन भएको छ । कोरोना संक्रमित डा. मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो ।

ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा. मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो । ७८ वर्षीय डा. मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए । तर घरमा बाथरुममा लडेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल ल्याइएको थियो । अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएको थियो ।

आइसियुमा उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हो । ओम अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा नेपालका वरिष्ठ सर्जन थिए । डा.मुडभरीको निधनमा ओम अस्पतालले अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।