बाबुराममाथि ओली खनिए : प्रमाण भए बाबुरामलाई अहिलेसम्मकै ठुलो अवसर

बाबुराममाथि ओली खनिए : प्रमाण भए बाबुरामलाई अहिलेसम्मकै ठुलो अवसर

काठमाडौँ -  बुढिगण्डकी जलविद्युत आयोजनामा शिर्ष तीन नेताद्धारा ९ अर्ब भ्रष्टाचार भएको भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति नेपाली राजनीति वृत्तमा उत्कर्ष मै छ । उक्त अभिव्यक्तिमा नेपाली काँग्रेस, नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले झूटो भन्दै जवाफ फर्काइसकेका छन् । अब के गर्लान डा. भट्टराई ? 

बहुचर्चित, विवादित बुढिगण्डकी जलविद्युत आयोजनाको ९ अर्ब रुपैयाँ शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओलीले भ्रष्टाचार गरी बाँडीचुँडी खाएको पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आरोप लगाए । 

आरोप मात्रै होइन त्यसको सम्पूर्ण प्रमाण आफूसंग रहेको उद्घोष समेत गरे । गत हप्ता आफू निर्वाचित भूमि गोरखामा पुगेर भट्टराईले सार्वजनिक कार्यक्रमा निर्भिक रुपमा यस्तो अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा स–सानो भूकम्प गएको छ । 

भट्टराईको यो अभिव्यक्ति लगत्तै पार्टी सभापति सेरबहादुर देउवामाथि भ्रष्टाचारको प्रश्न तेर्सिएपछि नेपाली काँग्रेसले वक्तब्य नै जारी गरेर आरोप पुष्टि गर्न भट्टराई माथि खुला चुनौती दियो । असोज २५ गते काँग्रेसले विज्ञप्ती जारी गर्याे । तीन दिनपछि असोज २८ गते विज्ञप्ती जारी गर्दै नेकपा प्रवक्ताले पनि आरोप पुष्टि गर्न, नभए क्षमा याचना गर्न भट्टराईलाई लिखित सार्वजनिक चुनौती दियो । काँग्रेसको विज्ञप्तीमा मौन बसेका भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको विज्ञप्तीमा भने तात्तातै जवाफ फर्काए ।

ट्वीट मार्फत भट्टराईले गोरखामा आफूसंग निर्वाचनमा पराजय व्यहोरेर राष्ट्रियसभामा सदस्य बनेका नेकपा प्रवक्ता श्रेष्ठप्रति लक्षित गर्दै ‘जस्केलाबाट छिर्नेहरूलाई सत्ताको तुजुक नदेखाउन’ चेतावनी दिए । ९ अर्व भ्रष्टाचार आरोपमा भट्टराईले नाम लिएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विज्ञप्ती पछि शुक्रबार सार्वजनिक समारोहबाटै जवाफ फर्काएका छन् । कपोल्कल्पीत विषयमा हल्का टिप्पणी नगर्न भट्टराईलाई ओलीले चेतावनी दिएका छन् । भट्टराईको गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार रहेको ओलीको दावी छ । 

यस लगत्तै भट्टराईले अर्काे ट्वीट गर्दै ओलीलाई प्रतिप्रश्न गरेका छन् । भ्रष्टाचारप्रति साच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त ? उनको प्रश्न छ । साथै पूर्वप्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन भइसकेका देशको एक बौद्धिक व्यक्तिले विना प्रमाण पूर्वप्रधानमन्त्रीद्धय र बहालवाला प्रधानमन्त्री माथि गम्भीर आरोप लगाएनन् होला भन्ने आम बुझाई छ । 

यद्यपी भट्टराईको त्यो संगिन अभिव्यक्तिलाई नेकपा, काँग्रेस, र प्रधानमन्त्री ओलीले हलुका रुपमा भने नलिएको देखिएको छ । अब भट्टराइले ओठे जवाफ फर्काउनु भन्दा पनि पूर्व स्वघोषित प्रमाणहरु सार्वजनिक गर्ने र कानुनी कठघरामा जानै पर्ने देखिन्छ । के यो अदम्य साहस भट्टराईसंग होला ?