दसैँ बिदामा जाने सैनिकलाई सेनाले हेलिकोप्टरमा घरसम्म पुर्‍याउने

दसैँ बिदामा जाने सैनिकलाई सेनाले  हेलिकोप्टरमा घरसम्म पुर्‍याउने

काठमाडौँ - नेपाली सेनाले दसैँ बिदामा जाने सैनिकलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ । सार्वजनिक यातायातमा कोरोना संक्रमणको जोखिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्‍याउने व्यवस्था गरेको हो।

सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले तयारी गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताउनुभयो । ‘यस वर्षको दसैँमा सकेसम्म कमलाई बिदामा छाड्छौँ, रुट मिल्नेलाई बस, हेलिकोप्टर र जहाजमा ठाउँठाउँमा पुर्‍याउने व्यवस्था गरेको  प्रवक्ता पौडेलले बताउनु भयो । 

नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ । घर बिदामा जाने टाढाका सैनिकलाई सेनाले जहाजमा विमानस्थलमा लैजाने छ । विमानस्थलदेखि सम्बन्धित स्थानका ब्यारेकले उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ ।

यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ । नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ । यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । 

बिदा सकेर फर्किंदा पनि यहि नियम लागु हुने छ। सेनाले आफ्नै सवारीमा ल्याउने छ। बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने तयारी सेनाको छ । सेनाले कोरोना संक्रमणबाट आफ्ना जवानलाई बचाउनका लागि यस्तो व्यवस्था गरेको हो । हालसम्म नेपाली सेनाका ३ हजार २ सय ४४ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ ।

यसमध्ये १ हजार ७ सय ६७ जना निको भएर काममा फर्किएका छन् । कोरोना संक्रमणकै कारण दुई सैनिकको ज्यान गएको छ । ज्यान गुमाउने सैनिक रामेछाप र तनहुँका हुन्। उनीहरुमा दिर्घ रोग समेत थियो । कोरोना संक्रमित सैनिकलाई राख्नका लागि सेनाले ब्यारेकैपिच्छे आइसोलेसन र क्वारेन्टिन तयार गरेको छ। वीरेन्द्र सैनिक अस्पतालमा २० बेड आईसीयू र ८० बेडको आइसोलेसन कक्ष बनाइएको छ ।

सूर्यविनायक ब्यारेकमा ७० बेड, सैनिक महाविद्यालयमा एक सय बेड र खरिपाटीमा एक सय २५ बेडको आइसोलेसन सेनाले आफ्ना लागि तयार गरेको छ। यस्तै हरेक जिल्लाका ब्यारेकमा अवस्था हेरेर आइसोलेसन तयार गरेको सेनाले जनाएको छ । कोरोना संक्रमणकै कारण सेनाले नियमित तालिम बन्द गरेको छ। सामुहिक छलफल भर्चुअल माध्यमबाट गरिरहेको छ। शान्ति मिसनमा खटिने सैनिकलाई पनि कोरोना परीक्षण गरेर र विशेष सतर्कता अपनाएर मात्रै पठाउने गरेको छ ।