मोतीराम भट्टको सम्झनामा

मोतीराम भट्टको सम्झनामा

       छन्द : मन्दाक्रान्ता 

मोती हाम्रा युवक प्रतिभा प्रेरणाका मुहान

मोती नै हुन् मुलुक भरका काव्य श्रष्टा र सान ।

मोती हर्दम् हिमशिखर झै काव्यमा चम्चमायौ

नेपालीका मन मन सधै सम्झनामा उदायौ ॥ 

 

मीठा-मीठा गजल कविता काव्यका सूत्रधार

मोती नै हुन् अमर प्रतिभा चम्कने बारबार ।

भाषाको यो प्रगति संग नै भानुलाई चिनायौँ

नेपालीका मन मन सधै सम्झनामा उदायौँ ॥ 

 

जस्तै गाह्रो र विपत सहदै धैर्यतामा रमायौ

लेखी लेखी रसिक रचना मातृभाषा बचायौ ।

 यौटा छुट्टै नविन युगको चित्र कोरेर ल्यायौ

 नेपालीका मन मन सधैँ सम्झनामा उदायौ ॥

 

खोल्यौ सानै कर मगजले काव्यको दिव्य द्वार        

ल्यायौ नौलौ सकल जनको चेतनामा  सुधार ।

अल्पायूमै अमरपुरको बास खोजेर लाग्यौ

 नेपालीका मन मन सधै सम्झनामा उदायौ ॥

रचयिता : मधु घिमिरे