नेपालका लेग स्पिनर सन्दीप लामिछाने जारी आईपीएलको मिड सिजन ट्रान्सफरको सूचीमा

नेपालका लेग स्पिनर सन्दीप लामिछाने जारी आईपीएलको मिड सिजन ट्रान्सफरको सूचीमा

काठमाडौँ  - नेपालका लेग स्पिनर सन्दीप लामिछाने जारी आईपीएलको १३औं संस्करणअन्तर्गत मिड सिजन ट्रान्सफरको सूचीमा परेका छन् । दिल्ली क्यापिटल्सले ट्रान्सफर गर्ने ९ खेलाडीको सूची सार्वजनिक गर्दा सन्दीप पनि परेका हुन् । दिल्लीसँग अनुबन्ध भएका सन्दीपले जारी लिगको आधा यात्रा समाप्त हुँदा खेल्न पाएका छैनन् । दिल्लीले ७ खेल खेलिसकेको स्थितिमा उनी प्लेइङ इलेभेनमा पर्न नसकेका हुन् । उनको यो लगातार तेस्रोपटक आईपीएलमा सहभागिता हो । सन्दीपले २०१८ मा आईपीएलमा डेब्यू गरेका थिए ।

विदेशी लिगमा निकै चम्केका उनलाई दिल्लीले भने शुरुआती खेलमा बेन्चमै राखेको छ । दिल्लीले योसमेत गरी तेस्रो सिजनसम्म पनि प्लेइङ ११ मा राख्ने कन्जुस्याइँ गरेको छ । पहिलो सिजनमा उनले अन्तिम ३ खेल खेलेर ५ विकेट लिएका थिए । उनको यही प्रदर्शनले गर्दा उनलाई दिल्लीले गत सिजनमा पनि टिममा राखेको थियो । सन्दीपले गत वर्ष आफ्नो दोस्रो सिजनको आईपीएलमा केवल ३ विकेट लिएका थिए । सो संस्करणमा पनि उनलाई कमै मौका दिइएको थियो ।