स्पेनिस खेलाडी नाडालले जिते १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

स्पेनिस खेलाडी नाडालले जिते १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौँ  - स्पेनिस खेलाडी राफायल नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी जित दर्ता गरेका हुन् । नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६–०, ६–२ र ७–५ को सेटमा हराए । दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् ।

जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल भएका छन् । नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए । ३४ वर्षीय नाडालको यो करियरको २० औं ग्राण्डस्लाम उपाधि समेत हो । यससँगै नाडालले स्विस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।