आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सको तेस्रो जित, हैदराबाद पाँच विकेटले पराजित

आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सको तेस्रो जित, हैदराबाद पाँच विकेटले पराजित

काठमाडौँ - राहुल तेवाटिया र रियान परागको अविजित ८५ रनको साझेदारी गरेपछि राजस्थान रोयल्सले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई पाँच विकेटले पराजित गरेको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रनको योगफल बनाएको थियो । १५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । 

राजस्थानले २६ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । सञ्जु सामसन र रोबिन उथप्पाले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरे । सामसनले २६ तथा उथप्पाले १८ रन बनाएर पवेलियन फर्किए । सामसन पवेलियन फर्किंदा राजस्थन ५-७८ रनको स्थितिमा थियो । 

त्यसपछि तेवाटिया र परागले ४७ बलमा अविजित ८५ रनको साझेदारी गरेपछि राजस्थान तेस्रो जित निकाल्न सफल भयो। परागले २६ बलमा दुई चौका र दुई छक्का प्रहार गरे भने तेवाटियाले २८ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

हैदरावादका खालील अहमद र रसिद खानले समान दुई विकेट लिए  । त्यसअघि हैदरावादका लागि मनिष पाण्डेले ५४, ओपनर डेबिड वार्नरले ४८, जोनी बेयरिस्टोले १६ तथा प्रियम गार्गले १५ रन बनाउँदा केन विलियम्सनले अविजित २२ रन बनाए ।  राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, जयदेव उनडकटले एक एक विकेट लिए । 

जितसँगै राजस्थानले सात खेलबाट ६ अंक जोडेको छ । हैदरावादको पनि समान खेलबाट ६ अंक नै छ। समान ६ अंक भए पनि रनरेटका आधारमा हैदरावाद पाँचौं तथा राजस्थान छैटौं स्थानमा छ ।