प्रधानमन्त्री ओलीको बोली व्यर्थै भयो, दशैँको वेला मजदूर भोकभोकै सडकमा

प्रधानमन्त्री ओलीको बोली व्यर्थै भयो, दशैँको वेला मजदूर भोकभोकै सडकमा

काठमाडौँ - हुनेखानेहरूका घरमा दशैँको ठूलो चहलपहल छ, अहिले । स्वादअनुसार परिकार पाकिरहेका छन् । परिवारका सदस्य त्यसैमा रमाइरहेका छन्  । चाडपर्वकै यही माहोलमा केही व्यक्ति भने सडकमा कसैले खाना ल्याइदिन्छ कि भन्ने आशमा घण्टौँ कुरेर बस्न बाध्य छन् । ।

पशुपतिनाथ मन्दिर नजिकै रहेको गौशाला सडकामा कोरोना संक्रमणको कहरका कारण रोजगारी गुमाएका यी मजदुर दिनहुँ खानाको आशामा यहाँ आउने गर्छन् । आइतवार पनि यिनीहरू छाक टार्ने आशमै यहाँ आइपुगेका थिए । विभिन्न समूहले यिनीहरूलाई दैनिक रूपमा खाना खुवाउने गरेका थिए । तर आइतवार आश गर्नु मात्रै भयो, घण्टौँ कुर्दा खाना आइपुगेन । उनीहरू निराश भएर सडकमै यसरी बस्न बाध्य भए । 

देशभर कोरोना संक्रमणको कहर रहे पनि गाउँशहर भने यतिबेला दशैँको रौनकमा छ । सडक सुनसान बनेका छन् भने शहरमा मानिसको भिडभाड घटेको छ । तर, यी मजदुर भने दशैँ मनाउने त परै जाओस् बिहानबेलुकीको छाक टार्न नसकेर सडकमा भोकभोकै सुतिरहेका छन् । खान नपाएर कसैले पनि सडकमा बस्नुपर्दैन भनेर सार्वजनिकरूपमा भाषण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीहरू यस्तो व्यंग्य गर्छन् ।

घर जाने पैसा समेत नभएका कारण दशैँमा समेत सडकमा मागेर गुजारा गर्न बाध्य बनेका मजदूर कसले कसरी उद्धार गरिदेला भन्ने चिन्तामा छन् । तर, राज्य भने उनीहरूको समस्याप्रति मुकदर्शक भएर बसेको छ ।