विज्ञको सुझाव, दशैँमा ज्येष्ठ नागरिकलाई जोगाउनुस्

विज्ञको सुझाव, दशैँमा ज्येष्ठ नागरिकलाई जोगाउनुस्

काठमाडौँ - काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा  कोरोना संक्रमण निकै फैलिएको छ । दशैंमा मान्यजनसंग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ  । तर यस वर्ष दशैंमा संक्रमणबाट जोगिनका सावधानी अपनाउन  विज्ञहरुले सुझाव दिएका छन  ।

नवरात्रभर पूजा–आराधना गरिएकी नवदुर्गा भवानीको प्रसाद विजयादशमीका दिन मान्यजनको हातबाट लगाउने सनातन संस्कृति मान्ने नेपालीको परम्परा हो । विजयादशमीका दिनघरका मान्यजनसँग प्रसाद ग्रहण गरी आफन्तकहाँ टीका लगाउन जाने चलन रहेको छ । 

कतिपय स्थानमा यो क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ । हाम्रो संस्कृतिमा ज्येष्ठ नागरिकको हातबाट लगाइने टीकाप्रसादको विशेष महत्त्व छ । टीकाप्रसादसँगै बूढाबूढीले दिएको आशीर्वाद लाग्छ भन्ने विश्वास गरिन्छ । त्यसैले जस्तोसुकै कठिन अवस्थामा पनि उनीहरूको हातको टीका पुग्नैपर्छ भन्ने मान्यता रहेको छ । 

तर यस वर्ष कोरोना संक्रमणको कहरका कारण परिस्थिति सोचेजस्तो छैन । सरकारले घरैमा टीका लगाउन र अन्यत्र नजान बारम्बार आग्रह गरिरहेको छ । विशेषगरी ६० वर्षमाथिका नागरिक जोखिममा रहने भएकाले उनीहरूसँग प्रत्यक्षरूपमाटीका नलगाउन सरकारले सुझाव दिएको हो ।

सरकारको यो सुझावलाई बेवास्था गर्दै काठमाडौँबाट धेरै मानिस घर फर्किएका छन् । यस्तै विजयादशमीको दिनदेखि पनि धेरै मानिस आफन्तकहाँ टीकालगाउन जान्छन् । काठमाडौँमा संक्रमण निकै बढिसकेकाले दशैँमा अन्यत्र पनि फैलिने भन्दै चिन्ता व्यक्त गरिएको छ । विज्ञहरू भने घर वा आफन्तकहाँ गइहाले पनि छुट्टै बस्न र सावधानी अपनाउन सुझाव दिन्छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बारम्बार भन्ने गरेजस्तै जीवन रहे त दशैँ अर्को वर्ष पनि मनाउन सकिन्छ । तर आफूबाट संक्रमण परिवार वा आफन्तमा सर्यो र त्यसैका कारण मानवीय क्षति व्यहोनुपर्यो भने जीवनभर पश्चाताप हुनसक्छ । त्यसैले सुरक्षा सावधानी अपनाएर मात्र दशैँ मनाउन र मान्यजनबाट टीका ग्रहण गर्न आवश्यक छ ।