गर्लफ्रेन्डको विषयमा विवाद हुँदा भक्तपुरमा एक जनाको हत्या

गर्लफ्रेन्डको विषयमा विवाद हुँदा भक्तपुरमा  एक जनाको हत्या

काठमाडौँ - शनिबार राति भक्तपुरमा गर्लफेन्डको विषयमा विवाद हुँदा  एक भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल भक्तपुर नगरपालिका- १ ईटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको हो ।

हत्यामा उनीसँगै काम गर्ने भारतीय नागरिक २३ वर्षका सलमान खान र १९ वर्षका सानु अन्सारी संलग्न रहेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्‍ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिनुभयो । 

कात्तिक ८ गते उनीहरु तीनैजना संगै बसेर मदिरा सेवन गरेको र राति करिब ९ बजे कारखाना फर्किने क्रममा भक्तपुर नगरपालिका २ ईटापाकोस्थित नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफेन्डको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो ।

त्यस क्रममा शाहिव हुसैनलाई सानु अन्सारी र सलमान खान दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको देखिएको डीएसपी गिरीले  जानकारी दिनुभयो ।

आइतबार विहान ७:५० बजे भक्तपुर नगरपालिका- २ ईटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा मानिस मृत अवस्थामा भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेको थियो ।

शव हेर्दा टाउको र अनुहार चिन्न नसकिने गरी क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय अपराध महाशाखाको टोली र तालिमप्राप्त २ वटा कुकुर पनि लगी अनुसन्धान गरिएको थियो ।