‘रअ’ का प्रमुख गोयल काठमाडौँ आइपुगे

‘रअ’ का प्रमुख गोयल काठमाडौँ आइपुगे

काठमाडौँ   - भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन् । गोयल इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट नेपाल आएको विमानस्थल उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । विमानस्थलमा उनीहरुलाई लिन नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पुगेका थिए। गोयल भीआईपी कक्षबाट बाहिरिएको विमानस्थल स्रोतले जानकारी दियो ।

 राष्ट्रिय अनुसन्धान विभागका एक उच्चअधिकारीले गोयल काठमाडौं आएको र उनी आज राति नै दिल्ली फर्किने जनाएका छन् । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमण तय भइसकेका बेला रअ प्रमुख पनि नेपाल आइपुगेका हुन् । सेनाध्यक्षको भ्रमण र दुई देशको सम्बन्ध सुधारमा उनको भ्रमण केन्द्रित हुने बताइएको छ । उनी बुधबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्नो नक्सामा समेटेपछि दुई देशको सम्बन्ध चिसिएको छ । उक्त क्षेत्रमा हालसम्म भारतले अतिक्रमण गर्दै आएको थियो । पछिल्लो समय सम्बन्ध सुधारका प्रयासहरु भइरहेका छन् । रअका प्रमुख र सेनाध्यक्षको भ्रमणले यसलाई थप पुष्टि गर्नेछन् ।