भीमेश्वरले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

भीमेश्वरले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौँ  -  भीमेश्वर नगरपालिकाले नगरवासीको निःशुल्क कोरोना परीक्षण तथा उपचार गर्ने भएको छ । संघीय सरकारले कोरोना संक्रमित नागरिकको उपचार नगर्ने घोषणा गरिरहेका बेला भीमेश्वरले निशुल्क उपचार गर्ने घोषणा गरेको हो । भीमेश्वर नगरकार्यपालिकाको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पंछिएको सरकारको चौतर्फी विरोध भइरहेका बेला भीमेश्वरको सो निर्णयले नगरवासीलाई केही राहत महशुस भएको छ ।

भीमेश्वर नगरपालिकामा स्थायी बसोवास गरिरहेका नागरिकहरुलाई कोरोनाको लक्षण देखिएमा निःशुल्क पीसीआर परीक्षण तथा आइसोलेसनमा राखी उपचार गर्ने भीमेश्वर नगरकार्यपालिकाको बैठकले निर्णय गरेको प्रबक्ता हरिबंश चौँलागाईंले बताए । भीमेश्वर नगरपालिकामा हालसम्म २ दर्जनभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । संक्रामक रोग तथा महामारी नियन्त्रणका लागि चालु आर्थिक बर्षको लागि विनियोजित करिब ४० लाख बजेटबाट उनीहरुको निशुल्क उपचार गरिने जनाइएको छ ।

नगरपालिकाले छुट्टै आइसोलेसन कक्ष निर्माण गरि यसअघि पनि निशुल्क उपचार गर्दै आईरहेको थियो । पीसीआर परीक्षण तथा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नैं ब्यहोर्ने प्रवक्ता चौँलागाईंको भनाइ छ ।