विरोधीलाई प्रधानमन्त्रीको जवाफ, सरकारको कदम उराठलाग्दो छैन

विरोधीलाई प्रधानमन्त्रीको जवाफ, सरकारको कदम उराठलाग्दो छैन

काठमाडौँ - कोरोनाको महामारीबाट सृजना भएका समस्याहरुका कारण आक्रान्त बनेका जनताले सरकारबाट कुनै सम्बोधन नभएको टिप्पणी गरिरहेका थिए । तर संविधान दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला समय उठेका आलोचित विषयहरुमा सम्बोधन गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्नुभयो । कोरोना महामारीमा सरकार निकम्मा बनेको, भ्रष्टाचार मौलाएको, राज्य जिम्मेवार नबनेको भन्दै चर्काे आलोचना भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सरकारले कामकारवाही निराशाजनक नभएको दावी गर्नुभयो । 

बन्दाबन्दीमा समेत कोरोना संक्रमणको दर बढिरहेपछि निषेधाज्ञा खोल्न तिब्र जनदवाव श्रृजना भयो र सरकारले निषेधाज्ञालाई अन्त्य गर्याे । स.क्रमणदर अहिले पनि उकालो लागिरहेकै छ । यद्यपी ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताउनुभयो ।

सुरुमा एउटा नमुना परीक्षण गर्न ८ हजार ५ सय रुपैयाँसम्म लागेकोमा अहिले २ हजार रुपैयाँमा कोरोना परीक्षण भइरहेकोमा ओली सरकार खुसी देखिएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतीपूर्ण रहेपनि भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभयो । भ्रष्टाचारविरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकताबद्ध भएर अगाडी बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको टिप्पणी गरे । ओलीले कोरोनाका कारण कतिपय वाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको स्वीकार गर्नुभयो ।

तर प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको पारदर्शीता र सुशासनमा आम रुपमा उठिरहेको प्रश्नका बारेमा जनअपेक्षित जवाफ भने ओलीले दिनुभएको छैन । सरकारको लोकप्रियता घट्दै जाँदा बोलेर भन्दा अझ गरेर आलोचकहरुलाई जवाफ दिनु नै जनहितमा हुने देखिन्छ ।