यो वर्ष पनि आसेपासेलाई नै मानपदवी, विज्ञले उठाए प्रश्न

यो वर्ष पनि आसेपासेलाई नै मानपदवी, विज्ञले उठाए प्रश्न

काठमाडौँ - संविधान दिवसको अवसर पारेर बर्सेनि दिइने विभिन्न पदक र सम्मान योग्यलाई नभएर शक्तिको केन्द्रमा रहनेहरुको लागि भएको भन्दै आलोचना चुलिएको छ । योग्य र सक्षमलाई पदवी दिएर उनीहरुको काममा प्रोत्साहन गर्नुको सट्टा आलोचनाकै केन्द्रमा रहने आसेपासेलाई मनलाग्दी पदवी बाडेँको टिप्पणी भएको हो ।

गत २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएसँगै सरकारले बर्सेनी फरक क्षेत्रमा उत्कृष्ट काम गर्ने पाँच सय ९४ व्यक्तिलाई विभिन्न मानपदवीबाट सम्मान गर्दै आएकोे छ । उत्कृष्ट काम गरेकालाई दिने भनिए पनि सरकारको नजिक रहेकाले हात पार्ने कारण मानपदवी बर्सेनी विवादमा पर्ने गरेको छ । संविधान दिवसको अवसर पारेर यस वर्ष पनि ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको छ । यसपटक पनि सरकारको बचाउ गर्ने र शक्तिमा रहेकाहरुले मात्रै पदक पाउने परम्पराले यसपालि पनि निरन्तरता पाएको विज्ञको बुझाइ छ ।

यो वर्ष पदक पाउनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै बिदा भएका प्रमुख आयुक्त नवीन घिमिरे पनि परेका छन् । आयोगबाट विदाइ हुँदा चौतर्फी आलोचना खेपेका घिमिरेलाई पदवी दिएर सरकारले योग्य व्यक्तिहरूको खिल्ली उडाएको सरोकारवालाको बुझाइ छ । योग्य र सक्षम व्यक्तिभन्दा बढी नेताको चाकडी गर्ने र सरकारको गुणगान गाउने व्यक्तिले पाउँदा मानपदवीको ओज नै घट्दै गएको उनीहरूको भनाइ छ ।

राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा छवि बनाएका व्यक्तिहरुलाई छानेर पदवी दिनुको साटो आलोचना र विरोधको केन्द्रबिन्दुमा रहेकालाई नै सम्मान गर्दा संविधान दिवसको गरिमा नै घटेको धेरैको बुझाइ छ । सत्ताको डाडुपन्यु बोकेकाहरूको परम्परागत सोच र चिन्तनका कारण राज्यले दिने मानपदवीमा पनि बर्सेनी प्रश्न उठ्नु राष्ट्रकै लागि लज्जाको विषय हो ।