‘कोही भोको हुँदैन’ भन्थे प्रधानमन्त्री ओली : भोकालाई लखट्दै भिआइपीले मनाए टुँडीखेलमा संविधान दिवस

‘कोही भोको हुँदैन’ भन्थे प्रधानमन्त्री ओली : भोकालाई लखट्दै भिआइपीले मनाए टुँडीखेलमा संविधान दिवस

काठमाडौँ - संविधान जारी भएको पाँच वर्ष पुरा भयो, यो पाँच वर्षमा कति सरकार फेरिए, कति नेताको जीवनशैली नै फेरियो होला तर नागरिकको जीवन अहिले पनि उस्तै पीडादायी छ ।

यसवर्ष संविधान दिवसको अवसरमा धेरै तामझाम नभए पनि काठमाडौँको टुँडिखेलस्थित  सैनिक मञ्चमा औपचारिक कार्यक्रम गरियो । कार्यक्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पुगे । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई कुनै किसिमको दुःखकष्ट हुन नदिने प्रतिबद्धता जनाइरहँदा सैनिक मञ्च पछाडिकै खुलामञ्चमा भोका तथा निमुखा नागरिक दाताले कतिखेर खाना देलान् भनी कुरेर बसेका थिए । भोका आफ्ना नागरिकको पेट भर्न नसक्ने सरकारले बिहानै विशिष्ठ व्यक्तिको कार्यक्रम छ भन्दै निःशुल्क खाना खुवाउने कार्यक्रम अन्तै सार्न उर्दी जारी गरेको रहेछ ।

सरकारले यति ठूलो राष्ट्रिय पर्व संविधान दिवसमा आफ्ना भोका नागरिक सम्झिएन । कार्यक्रम नै खल्लो हुने ठानेर खाने स्थलबाटै धपाइदियो । लकडाउनको सुरुदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएका दाता शनिवार चित्रन्द्र क्याम्पस प्राङ्गणमा लगेर खाना खुवाउन बाध्य भए । संविधान दिवसका अवसरमा यी भोका नागरिकलाई आफैँले एक छाक खाना र एक जोर लुगा उपलब्ध गराएको भए सरकारको ढुकुटी पक्कै रित्तिने थिएन होला ! सत्ताको चास्नीमा रमाइरहेकाहरूको मस्तिष्कमा यति कुरा पनि आउन सकेन ।

आकाशमा सैनिक हेलिकोप्टर उडाएर संविधान दिवस मनाउन पाएकोमा सत्तामा रहेकाहरू बडो आनन्दित देखिएका थिए । त्योभन्दा कम आनन्दित थिएनन्, यो भोका नागरिक आजको छाक पनि टार्न पाएकोमा ।