विद्यालय जान नपर्दा बालबालिका दंग, अभिभावकको चिन्ता : स्कुल कहिले खुल्ला ?

विद्यालय जान नपर्दा बालबालिका दंग, अभिभावकको चिन्ता : स्कुल कहिले खुल्ला ?

काठमाडौँ - कोरोना भाइरस संक्रमण र पटकपटकको निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि बालबालिकाको पठनपाठनमा गम्भीर असर परेको छ । अभिभावक छोराछोरीले पढ्न छाडे भनेर चिन्तित रहँदा विज्ञ भने बन्दको यो अवसरलाई अभिभावकले उपयोग गर्न नजानेको तर्क गर्छन् ।

एकातिर कोरोना भाइरस संक्रमणको त्रास अर्कातिर पटक–पटकको निषेधाज्ञा र लकडाउनका कारण सबै शैक्षिक संस्था ६ महिनादेखि बन्द छन् । यसका कारण विद्यालय तथा विश्वविद्यालय तहको पढाइ प्रभावित भएको छ भने विभिन्न तहका परीक्षा रोकिएका छन् । शिक्षण सिकाइको खुड्किला चढ्दै गरेका साना नानीहरू बढी प्रभावित भएका छन् । विद्यालय जान नपाएपछि उनीहरू यसरी समय व्यतीत गरिरहेका छन् ।

त्यसो त विशेषगरी शहरी क्षेत्रमा निजी क्षेत्रका विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । त्यो पनि त्यति प्रभावकारी नहुँदा बालबालिकामा पढ्ने बानी पनि कम हुँदै गएको छ । कतिपय बालबालिका त परिस्थिति सहज भइदिएर चाँडै विद्यालय जान पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छन् ।

बालबालिकालाई विद्यालय पठाउन नपाउँदा अभिभावक पनि पिरोलिएका छन् । छोराछोरी किताबमा भन्दा बढी टीभी ल्यापटप र मोबाइलमा झुम्मिएकोमा उनीहरू चिन्तित छन् । विद्यालय जाने उमेरका छोराछोरीलाई महिनौँ घरमा राख्नुपर्दा उनीहरू दुःखी छन् । 

तर विज्ञ भने विद्यालय बन्द रहेको अवस्थामा बालबालिकालाई घरमै व्यावहारिक ज्ञान दिन सक्नुपर्ने तर्क गर्छन् । किताबका कुरा रटाउनुभन्दा व्यावहारिक विषयवस्तुको ज्ञान दिन सकिने उनीहरू बताउँछन ।

६ महिनादेखि घर बस्नुपर्दा बालबालिकाको पढाइको लय बिग्रिएको तथ्यलाई नकार्न त सकिँदैन तर किताबी ज्ञान मात्रै सबैथोक हो भन्ने भ्रमबाट अभिभावक मुक्त हुनुपर्छ । बालबालिकालाई पर्याप्त समय दिएर घरैमा पनि व्यावहारिक ज्ञान दिन आवश्यक छ ।