थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

थप ११ जनाको मृत्यु, मृतकको संख्या  ४०१ पुग्यो

काठमाडौँ - नेपालमा कोरोना संक्रमणले आज थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात महिला र चार पुरुषको निधन भएको हो । 

ललितपुरका दुई तथा काठमाडौँ, मकवानपुर, मोरङ, रौतहट र सर्लाहीका एक/एक महिलाको मृत्यु भएको हो । यस्तै ललितपुर, काठमाडौँ, रूपन्देही र बाँकेका एक/एक पुरुषको मृत्यु भएको हो । यससँगै संक्रमणले ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको छ । 

यस्तै आज देशभर एक हजार दुई सय चार जना संक्रमित थपिएका छन् । १० हजार तीन सय ३३ जनाको पीसीआर गर्दा सात सय ९६ पुरुष र चार सय आठ महिलामा संक्रमण पुष्टि भएको हो । 

यसमध्ये काठमाडौँ उपत्यकाका सात सय ११ जना छन् । काठमाडौँका पाँच सय ७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जना संक्रमित भएका हुन् । २४ घण्टायता एक हजार चार सय ४७ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर १७ हजार एक सय २९ जना आइसोलेसनमा उपचाररत छन् । आईसीयूमा एक सय ७९ तथा भेण्टिलेटरमा ३५ जना रहेका छन् ।।