संविधान कार्यान्वयनमा छैन नेताको ध्यान, एकअर्काको खोइरो खन्नमै व्यस्त

संविधान कार्यान्वयनमा छैन नेताको ध्यान, एकअर्काको खोइरो खन्नमै व्यस्त

काठमाडौँ - संविधानसभाबाट जारी भएको संविधान विश्वकै उत्कृष्ट भएको बताईएपनि यसको कार्यान्वयन भने सन्तोषजनक देखिएको छैन । जसले गर्दा संघीयताको पूर्ण कार्यान्वयन र समाजवादउन्मुख राज्यको निर्माण हुने आशंका बढ्न थालेको छ ।

संविधानसभाबाट संविधान जारी भएको पाँच वर्ष बितिसक्दा समेत यसको कार्यान्वयनतर्फ राजनीतिक दलहरुको खासै ध्यान पुग्न सकेको छैन । संविधानमै उल्लेख भएका कतिपय प्रावधानलाई बेवास्ता गर्दै दलहरु आफ्नो स्वार्थसँग मिल्ने निर्णयमा केन्द्रित भएको भन्ने टिप्पणी पनि भइरहेका छन् । तर, दलका नेता भने संविधानले राष्ट्रिय एकता कायम गराउने, मौलिक हकको कार्यान्वयन गराउने र जनतालाई अधिकारसम्पन्न बनाउने लगायत थुप्रै विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बताउँछन् ।

तर संघीयता, गणतन्त्र, समावेशिता, समाजवाद र धर्म निरपेक्षता लगायत उपलब्धि प्राप्त भएको दाबी भइरहँदा संविधानसभाबाट संविधान जारी गराउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति नै व्यवस्थामाथि प्रश्नचिह्न उठाउन थालेका छन् । अहिले सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएकाले संविधान कार्यान्वयनमा ढिलाइ भएको प्रतिपक्षी नेताको भनाइ छ।

विश्वकै उत्कृष्ट संविधान जारी गरेर त्यसमाथि प्रश्न खडा गर्नु पूर्वाग्रही सोचको पराकाष्ठा भएको कतिपयको बुझाइ छ । संविधानसभाबाट उत्कृष्ट संविधान बनाएर जनताको अधिकार सुनिश्चित गरेको बताउने दलहरुको पाँच वर्षको अवधि भने सन्तोषजनक देखिएको छैन । जसले गर्दा संघीयता सफल हुने र  नेपालमा समाजवाद आउनेमा नेताहरु विश्वस्त हुनसकेका छैनन् ।