काठमाडौँ — अहिलेसम्म सार्वजनिक भएका सुनकाण्डमा भरियासम्म पुगेको अनुसन्धान मालिकसम्म पुगेकै छैन ।जबकि उच्च तहका व्यक्तिको भूमिका छरप्रष्ट देखिँदै आएको छ । पछिल्लो सय किलो सुनकाण्डमा समेत भीआईपीको नाम आउने सम्भावना छ । तर अनुसन्धान त्यहाँसम्म पुग्ने विषयमै प्रश्न छ । आखिर पटकपटक किन मुछिन्छन् सुनकाण्डमा भीआईपीहरु ? सय किलो सुन बोकेर कुद्न पाउने भाग्यमानी ट्याक्सी पक्राउ परेपछि सबैभन्दा ठूलो सुनकाण्डको असलियत बाहिर आएको छ ।
विमानदेखि ट्याक्सीसम्म सुन बोकाउने मालिकको खोजिभइरहेका बेला केही भीआईपीहरु फेरि चर्चामा आएका छन् । जसले सुनकाण्ड मच्चाउन भूमिका खेलेको आरोप खेपिरहेका छन् । त्यसमध्ये गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको नाम पनि मुछिएको छ । संसदीय समितिको बैठकमै उनीहरु बिना सुन तस्करी सम्भव नै नभएको भन्दै सांसदले राजीनामा माग गरेका छन् ।
सरकारमा भएका व्यक्तिकै संरक्षणमा विगतदेखि नै विमानस्थलबाट सुनतस्करी हुने गरेको तथ्य नौलो होइन । तर अहिलेसम्म जति अनुसन्धान भएका छन्, ती सबै हांगाबिंगामै सिमित छन् ।यो सुनकाण्डमा १६ जना पक्राउ परेका छन् । अनुसन्धानको सिलसिला जारी छ । गृहमन्त्री कुनै ‘टार’, ‘कोट’ वा ‘पार्टी’को मलाई मतलब छैन भन्दै अनुसन्धानलाई ब्यापक बनाउने दाबी गरिरहेकाछन् । सुन समातिएको जस लिन भ्याईनभ्याइ छ ।
सरकारमै हुँदा सुन तस्करीमा नाम आएका यी दुई मन्त्री शंका गरिएका पात्र मात्रै हुन् । सुनतस्करीमा संलग्न राजनीतिक नेता र भीआईपीहरुको लामै सूची छ । कुनैबेला गृहमन्त्रीको भूमिका रहेका बामदेव गौतमको नाम तोकेरै सुन तस्करी भएको विषय सार्वजनिक भएको थियो । अहिले पनि गौतम सुन तस्कर नै भएको दाबी कतिपय पूर्व सुरक्षा अधिकारीगर्छन् ।
उनीहरुका अनुसारवामदेव गृहमन्त्री हुँदा सुन तस्करी गर्न सानेपामा घर लिएर अफिस नै सञ्चालन गरिएको थियो । अहिले सय किलो सुनकाण्ड सार्वजनिक भएपछि बामदेव गौतम पुनः चर्चामा छन् । तर उनले विमानस्थलबाट हुने तस्करीमा मन्त्रीको कुनै भूमिका नहुने दाबी गरेका छन् ।
बामदेव गौतम र अर्का पूर्व गृहमन्त्री खुमबहादुर खड्काको संरक्षणमा त्यतिबेला व्यापक सुन तस्करी हुने गरेको थियो ।कुनै समय अर्थमन्त्री हुँदा विमानस्थलबाट सुन तस्करी गरेको पुष्टि भएपछि रवीन्द्रनाथ शर्मालाई मरणोपरान्त अदालतबाट दोषी ठहर गरिएको थियो । अर्थमन्त्रीमाबहाल रहेकै बेला उनले तस्करीको आरोप स्विकार गरेका थिए ।अहिलेका श्रममन्त्री शरतसिंह भण्डारीले २०५६ अघि मन्त्री भएकै बेला विमानस्थलबाट सुन छिराउन आईपीजीलाई दबाब दिएका थिए ।
राष्ट्रिय पञ्चायत सदस्यचन्द्रबहादुर बुढा र नरबहादुर गुरुङलाई समेत सुन नाइके मानिएको थियो । उनीहरु हङकङबाट अवैध सुन ल्याएको फेला परेपछि पक्राउ परेका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा लोकमानसिंह कार्कीले समेत तस्करीको धन्धा चलाएका थिए ।
विमानस्थलबाट तस्करी गर्नकै लागि उनले आफ्नो टोली नै खटाएकोसार्वजनिक भएको थियो । कुनै बेला १५ लाख कमिशनको लोभमा अधिराजकुमार धीरेन्द्रले समेत हङकङबाट क्वीन्टल सुन भित्र्याएको सार्वजनिक भएको थियो । जसको आरोपमा उनका अंगरक्षक भरत गुरुङ र आइजिपी डिबी लामा पक्राउ परेका थिए । यसर्थ सुन तस्करी गर्ने मामिलामा काँग्रेस, कम्युनिष्ट वा पञ्चेहरु कोही चोखो छैनन् ।
एमाले नेता पोखरेलले आफ्नो सरकार भएको भए अहिलेसम्म दोषी समातिसक्ने दाबी गरेका छन् । तर उनकै सरकारका पालामा ३३ किलो सुन गायब भएको थियो । गोरे जस्ता भरिया समातेर सुन गायब बनाउने सरकार उनकै थियो । पछिल्लो समय पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम पनि तस्करीकै सूचीमा छ ।अहिले पनि फेरि भीआईपीकै जगजगी सुन तस्करीमा हुनसक्ने र पक्राउ परेकाले बयानमा ओकल्नेसक्ने सम्भावना छ । तथापी सत्ता र राजनीतिक पहुँचको आँडमा क–कसले संरक्षण दिइरहेको छन, एकएकको विवरण आउन बाँकी छ । किनकि पटकपटकका काण्डले उच्च तहको संलग्नता पुष्टि गरेका छन् ।
तस्करहरुका लागि त्रिभुवन अन्तर्राष्टिय विमानस्थल ट्रान्जिट विमानस्थलका रुपमा प्रयोग हुँदै आएको छ । पहिलो धातुमा कालो धन्धा चलाउनेहरुले छुट पाइरहेका छन् । साँच्चिकै सुन तस्करका लागि हाम्रो विमानस्थल स्वर्णभूमि बनेको छ । विमानस्थलको कमजोर सुरक्षा अवस्था भन्दा पनि विमानस्थलभित्रका अधिकारीको कमजोर नियतका कारण तस्करी झनझन बढ्दै गएको छ ।


प्रतिक्रिया