काठमाडौ — भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारको तामझाम र नेतृत्वलाई रिझाउन गरेको तिकडममा करोडौं पैसा खर्च भयो । जसको लेखाजोखा कसैसँग छैन । मुलतः नेताहरुको पैसाकै बलमा टिकट बाड्ने र पैसाकै बलमा चुनाव जितिन्छ भन्ने परिपाटीको विकासले निर्वाचन निल्नै नसक्ने गरि महंगिएको छ । जसलाई रोक्नेभन्दा दोष थुपार्नेतिर राजनीतिक नेतृत्व लागिपरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाईचुनावमा १० करोड खर्च गर्न कसले भन्यो ?किनकि निर्वाचनमा १० करोड खर्च हुने र खर्च नगरि चुनाव नजितिने भन्दै प्रचण्डले यो प्रणाली खराब रहेको दाबी गरे । र यसलाई बदल्नुपर्ने पनि उनको माग छ ।तर उनलाई चुनावमा करोडौं खर्च गर्न कसले भन्यो ?जनताले भने ?होइन,कानूनले भन्यो ?त्यो पनि होइन । कि आफ्नै कार्यकर्ता भने ?
वा आफैले आफैलाई भनेर चुनावमा १० करोड खर्चिए र अब पनि खर्च गर्दैछन् वा आफ्ना नेताहलाई खर्च गर्न लगाउँदै छन् ?जबकि पैसा नहुनेलाई टिकट पनि नदिने प्रचण्ड, देउवा र ओली नै हुन् ।जसले पैसाको बिटो बोक्न सक्छ, उसैलाई बालकोट, बालुवाटार र खुमलटारले टिकट बाड्छ । अनि करोडौं नभइ चुनाव जितिदैन भन्दै रोइकराई गर्ने नेताहरु पनि यीनै हुन् र यीनैले निर्वाचन प्रणालीमाथि दोष थुपार्छन् । एकपटक फेरि हेरौं त माओवादी अध्यक्ष प्रचण्डको यो रोइकराई ।
केहिमहिना अघि चुनावमा ६ करोड खर्च गरेको भन्दै नेपाली काँग्रेसका नेता शशांक कोइराला हर्षबढाई गर्दै थिए । आफुले जस्तै सात करोड खर्च गर्न सक्ने ताकत कसैमा भए, आफ्नो निर्वाचन क्षेत्र नै खाली गरिदिने उनको दावा थियो ।जुन विषयलाई लिएर निर्वाचन आयोगले स्पष्टिकरणसमेत सोधेको थियो ।किनकि नेताहरुले आयोगलाई खर्चको सत्य विवरण बुझाउने गरेका छैनन् । अहिले त्यही क्षेत्रमा अर्बपति विनोद चौधरीले चुनाव लड्ने तयारी गरिरहेका छन् । तर शंशाकले चौधरी जस्ता अर्बपतिलाई छोड्छन् कि झन धेरै पैसा खर्च गर्न तयार हुन्छन् हेर्न बाँकी छ ।
अहिले केन्द्रीय नेतृत्वदेखि जिल्ला÷गाउँ तहका नेताहरुसमेत पैसाकै बलमा टिकट पाइनेर पैसाकै बलमा चुनाव जितिने दाबी गर्दै आएका छन् ।तर धरानका हर्क साम्पाङले ५० हजारमा चुनाव जिते । काठमाडौंका बालेन साहले तीन लाख ९४ हजारमै महानगरको नेतृत्व जिते । राजनीतिक दलका नेता÷कार्यकर्ता मात्रै भन्छन्, यो निर्वाचन प्रणालीमार्फत करोडौं खर्च नगरि चुनाव जितिदैन । त्यसैले यो प्रणालीनै फेर्न आवश्यक छ । तर प्रणाली फेरिए पनि यी पात्रहरु कायम रहँदा कसरी चुनाव सित्तिमै जितिन्छ त्यसको ग्यारेन्टी कसैले गरेका छैनन् ।
किनकि प्रचण्ड जस्ता केही नेताको माग पूर्ण समानपातिक निर्वाचन प्रणाली हो । यो प्रणालीमा उम्मेदवारलाई नभई सिधैं पार्टीलाई भोट हालिन्छ । र पार्टी नेतृत्वलेतय गरेका उम्मेदवारहरुले संसदमा प्रतिनिधित्व गर्छन ।नेतृत्वले नै सांसदका लागि नेता छान्ने भएकाले यहाँ पनि पैसाकै बिटो बोक्न सक्ने र प्रभावित पार्न सक्ने व्यक्तिले प्राथमिकता पाउने छन् ।यस्तो माग अहिले राप्रपाका अध्यक्ष राजेन्द्र लिङद्ेनले समेत गरिरहेका छन् । तर निर्वाचनमा पैसा खर्च गर्नु हुँदैन र पैसाका बलमा चुनाव जित्ने होइन भनेर नेता कार्यकर्तालाई सिकाउने तर्फ उनीहरुको ध्यान गएकै छैन ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ वटै तहका उम्मेदवारले वैधानिक रुपमा ४५ अर्बमात्रै खर्च गरे । तर अदृश्य रुपमा कति खर्च भयो, त्यसको लेखाजोखा कसैसँग छैन । सम्भवतः अब फेरि पाँच महिनापछि देश संसदीय निर्वाचनमा जाँदैछ । त्यसका लागि नेतृत्वलाई पुज्ने र दैनिक दैलोमा धाउने खेल अहिलेदेखि नै सुरु भएको छ । त्यसरी टिकट पाउनेहरुमा निष्ठाको राजनीति गर्नेहरुभन्दा सोलो–डोलो, मसलदार गुण्डा र व्यापारीहरु धेरै छन् ।राजनीतिक नेतृत्व त्यसैकै प्रभावमा पर्दै आएको छ । विगतमा पनि कति नेताहरुपैसा नभएकै कारण चुनावी दौडबाट बाहिरिएका थिए ।अहिलेको निर्वाचनमा फेरि त्यही नियती फर्किने पक्का छ । तर पैसा खर्च कसरी कम गर्ने भन्दा प्रणालीमाथि दोष दिएर झनै अराजक बन्न नेतृत्व लागि परेको छ ।


प्रतिक्रिया