काडमाडौँ — सद्भाव, सौन्दर्य र रङ्गको पर्व मानिएको फागु पूर्णिमा तराई–मधेशका जिल्लाहरुमा आज हर्षोल्लासपूर्वक मनाइएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेगमा पूर्णिमाका दिन मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट मनाइन्छ । रंगहरुको पर्व होली शुक्रबार मधेशका जिल्लाहरुमा धुमधामका साथ मनाइएको छ । मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो पर्व प्रेम र स्नेहको चाड पनि हो । सबै प्रकारका आपसी मतभेद र भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाएर होली खेलिन्छ ।
यसदिन बिहानै गाउँ गाउँका चौक,चौराहामा होलिका दहन गरि होलीको सुरुवात गरिन्छ । वैदिक यज्ञसँग जोडिएको होलीमा समद अर्थात आगोमा चीर डढाउने गरिन्छ । मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि रहेको छ । फागुन पूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवतालाई नैवेद्य चढाउने गरिन्छ, जसलाई मैथिली भाषामा ‘पातरि’ भनिन्छ । राति सामूहिकरूपमा होलिका दहन गरिन्छ । होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।
संस्कृतिविद् उग्रकान्त झा होलीमा सबै जातजाति, वर्ग र धर्म समुदायमा भेदभाव नगरी धनी, गरीब, उच, नीच सबै मिलेर मनाउने परम्परा भएकाले सदियौँदखि जीवन्त रहँदै आएको बताउँछन् । आजभन्दा डेढ दुई दशक अगाडीसम्म ढोल, डम्फु, झाल, मृदङ्ग बजाएर नाचगान गरि सामुहिक रुपमा मनाइँदै आएको होली बढ्दो आधुनिकतासँगै गाउँगाउँबाट विस्तारै हराउँदै गएको छ । पछिल्लो समय यो पर्व केही ओझेलमा परेको पाइन्छ ।
सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि नपर्ने मान्यता रहेको पाइन्छ । तराई–मधेशमा होली पर्वले हिन्दु, मुस्लिम लगायत अन्य जातजातिमा एकताको सन्देश दिएको छ । असत्य माथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजय भएको प्रतीकस्वरुप मनाइने होलीले अनेकतामा एकता कायम गरेको छ ।


प्रतिक्रिया