राजनीति

प्रधानमन्त्री र मन्त्री बिरामी हुँदा रमाउने हुल, मानवताको गम्भीर भुल, कसले बनायो अराजक ?(भिडियो)


हामी नेपाली शत्रु नै बिरामी परे पनि मृत्यु चाहिँ भइ नहालोस् भनेर प्रार्थना गर्छौँ । पीडामा सहानुभूति र सहयोगको भावनाले नै नेपाली हुुनुुको पहिचान हो । अर्थात, समय समयमा मानवता जीवित छ भन्ने उदाहरण पनि नेपालीले दिने गरेका छन् । तर, पछिल्लो पुस्ताका नेपालीमा ठिक विपरीतका गतिवधि देखिएका छन् । नेता मरे मात्र यो देश सप्रिन्छ भन्ने भाष्यले काम गर्दा बिरामी नेतालाई समेत अग्रिम श्रद्धाञ्जली दिने जमादले मानवताको बली चढाइरहेको छ । यसको ज्वलन्त उदाहरण हो– पोखराको बेलुन विस्फोट घटना । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महनगरपालिकाका मेयर धनराज आचार्य आगोको लप्काले भेटेर घाइते हुँदा सर्वसाधारणले भने सहानुभूति र स्वास्थ्य लाभको साटो खुसीयालीसहित अग्रिम श्रद्धाञ्जली भनिरहेका छन् ।
‘पाप धुुरीबाट करायो । लामो समयपछि शुभ समाचार सुन्न पायौँ । मृत्यु नै हुनुपर्ने थियो धन्न बाँचेछन् । भगवान रहेनन्, पापको फल दिए, यहाँ त हाम्रा प्रधानमन्त्री हुनुपर्ने थियो’ लगायतका प्रतिक्रियासहितको दानवीय रुप सामाजिक सञ्जालमार्फत देखाइरहेका छन् ।

यहाँ अर्थमन्त्री र मेयर, एमाले वा एकीकृत समाजवादी को हुन् भन्ने कुुराले फरक नपार्नु पर्ने हो । उनीहरुले कर्मको फल भोलिका दिनमा भोग्लान्÷नभोग्लान् यो अहिलेको मुख्य विषय नबन्नु पर्ने हो । तर, उनीहरुका विचार र विगतका कर्तुतभन्दा माथि रहेर मानवीयता देखिनु पर्ने बेलामा दानवीय प्रवृत्तिको दुःखद् दृष्य र अभिव्यक्ति स्वतन्त्रतामा मौलाएको स्वच्छन्दता आफैँमा दुःखद् पक्ष हो ।
यो अराजकता हो वा नेताहरुप्रतिको वितृष्णा ? यसलाई पुष्टि गर्न दुई वर्ष पहिलेको घटना सम्झनुपर्छ । २०७९ फागुन दुई गते यस्तै घटनामा परी कांग्रेस सांसद चन्द्र भण्डारी घाइते भएका थिए । कांग्रेस खत्तम भयो भन्नेहरुले समेत भण्डारीको प्रशंसा गरेका छन् । यही कारण उनले जलनको उपचार गराउँदा सर्वसाधारणको अथाह सहानुभूति पाएका थिए । तर, अहिले ठिक त्यही प्रकृतिको घटनामा घाइते भएका नेताको मृत्युकामना गरिरहेका छन् । मन्त्री पौडेल बालुवाटार जग्गा काण्डमा मुछिएका थिए । यही कारण उनीमाथि हेर्ने दृष्टिकोण नकारात्मक भएको बुझ्न समस्या छैन । केही समयअघि मात्र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूले हाछ्युँ गरेको समाचार आउँदा भेन्टिलेटरमा बसेको पुरानो फोटो भाइरल बनाएर मृत्युको कामना गरिएको भन्दै आपत्ति प्रकट गरेका थिए ।

तर, यो घटनाले अर्को विषय पनि बहसमा ल्याएको छ । माघ २३ गते काठमाडौंको एक मःमः पसलमा ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा १४ जना घाइते भए । जसमा ११ जनाको अवस्था गम्भीर छ । तत्काल अस्पताल लैजान उनीहरुले संघीय राजधानीमै एम्बुलेन्ससमेत पाएनन् । सामान बोक्ने गाडीमा खसी, बोका हाले जसरी अस्पताल लगियो । अस्पताल पुुगेर पनि उनीहरुले आईसीयुमा बेड पाएनन् । मन्त्रीका लागि क्षणभरमै हेलिकप्टर आउँदा सर्वसाधारणका लागि एम्बुलेन्स किन आएन ? यदि कुनै दुर्गम जिल्लामा यस्तै प्रकृतिको घटना भए सरकारी हेलिकप्टर आउँथ्यो ? त्यही ठाउँमा जनतालाई आगोको लप्काले छोएको भए के हालत हुन्थ्यो ? लगायतका गम्भीर र सोचनीय प्रश्नलेसमेत स्थान पाइरहेका छन् ।

यसबारे संसदमा पनि आवाज उठेको छ । जहाँ रास्वपाका सांसदले मन्त्रीका लागि किन हेलिकप्टर लिगियो ? भन्दै प्रश्न गरेका छन् । जबकि मन्त्रीका लागि किन हेलिकप्टरभन्दा पनि जनताले किन पाएनन् भन्नेतर्फ उनीहरुको आलोचना सोझिनुपर्ने थियो । यस्ता संवेदनशील विषयमासमेत सिन्डिकेट लाद्नमा नेताहरु नै अग्रभागमा देखिन्छन् । धेरैजसो एमालेका नेताले विष्णु पौडेललाई र एकीकृत समावादीका नेताले मेयर आचार्यलाई मात्र सामाजिक सञ्जालमा स्वस्थ्यलाभको कामना गरेका छन् । एउटै घटनामा घाइते भएका दुई नेतामाथि सहानुभूति राख्नेहरु नै दलीय रुपमा विभाजित भएका छन् । जुन कुरालाई सामान्य रुपमा लिन सकिन्न । केही दिनअघि मात्र माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले समेत जनयुद्धको विरोध गर्नेहरु खरानी हुुने भनेका थिए । एमाले अध्यक्ष ओलीका समेत यस्तै प्रकृतिका भड्काउ अभव्यक्तिको हिसाबकिताब छैन । अरुको चरित्र हत्या गर्ने, मन परे देवत्वकरण गर्ने र मन नपरे दानवीकरण गर्ने, सन्तुलित विचार राख्न नसकेर श्रद्धाञ्जली दिने र सामाजिक मर्यादाभन्दा बाहिर जाने कदम ‘विविधतामा एकता रहेको हाम्रो जस्तो नेपाली समाज’का लागि नितान्त स्वीकार्य होइनन् ।