राजनीति

ओली–महतोको चरित्र–कस्तो विचित्र (भिडियोमा)


काठमाडौँ – कुनैबेला मधेसीहरुको कटु आलोचक प्रधानमन्त्री ओेली थिए भने राजेन्द्र महतो लगायत केही मधेसवादी नेताहरु पनि ओलीको विरोधी थिए । प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गर्दा पनि प्रतिगमनकारी भन्दै उनीहरु सडकमा आएका थिए । तर अहिले उनै ओलीसंग सत्ता सौदाबाजी गरेर महतो लगायतले निर्लज्जता कायम गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नकै लागि आफु जन्मिएको हो र ? भन्दै प्रश्न तेर्साउने महतो अहिले ‘ओलीप्रभुको लिला अपरम्पार’ झैँ गरि उपप्रधानमन्त्री हुँदै मन्त्रीपरिषदको तेस्रो वरियतामा आसिन भएका छन् ।

करिब तीन महिना अघि मुखै खोलेर ओलीलाई ठग भनेका महतो उनै ओली नेतृत्वको सरकारमा कुम जोडेर सामेल भएका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारीदेखि नस्लबादी र नक्कली राष्ट्रबादी भन्नसमेत उनी पछि परेका थिएनन् । अहिले उनै ओली महतोका लागि राष्ट्रवादी बनेका छन् ।

संविधान जलाउने महतो र संविधान कुल्चिएर हिडिरहेका ओली नै अहिले संरक्षक बनेका छन् । २०७२ मा संविधान जारी हुँदा देशले दीपावली गरिरहेको थियो । तर महतोहरुले कालो दिनको संज्ञादिदै जलाइरहेका थिए । कुनैबेला नाकामा बसेर भारतको सहयोगी बन्दै नेपालीहरुमाथि नाकाबन्दी लगाउने काम महतोहरुले गर्दै थिए । पारी बसेर वारी ढुंगा हान्ने तीनै राजेन्द्र महतोहरुको विरुद्धमा उत्रिएर खड्गप्रप्रसाद ओली राष्ट्रवादी बनेका थिए । मधेसीवादी नेतृत्वलाई देखिनसहने ओली अहिले उनै नेताहरुलाई सरकारमा सामेल गराएर सत्ता सुरक्षाको अचुक ओखती बनाएका छन् । यीनै नदीका दुई किनाराहरु अहिले सालनाल जोडिएर एक रथका दुई पाङग्रा बनेका छन् । जुन अप्राकृतिक राजनीति हो ।

प्रधानमन्त्री ओलीका लागि भारतीय दूताबास र वालुवाटारको ओहोरदोहार लगाउने काम उनै महतो र जसपाका अध्यक्ष महन्थ ठाकुरले गर्दै आएका थिए । भारतको बफादार गुलामी बनेर सघाउदै आएको आरोप पनि उनीहरुमाथि पटकपटक लाग्दै आएको छ । पछिल्ला राजनीतिक घटनाक्रममा दक्षिणपन्थी हाबी भइरहेका बेला नागरिकता अध्यादेशदेखि जसपाका १० जना एकैपटक मन्त्रीमण्डलमा सहभागी गराउने काम पनि यही बफादारिताको उपहार भएको कतिपयको निष्कर्ष छ । शुक्रबार मन्त्री हुने वित्तिकै महतोले नेपालीहरुले कहिल्यै मन नपराएको र विखण्डकारी मानसिकताको बहुल राष्ट्रवादको कुरा पुनः उठाएका छन् ।

एकातिर मुद्धाका लागि सरकारमा सामेल भएको सिदान्त छाटीरहेका महतोले बहुल राष्ट्रिय राज्य भन्नुको अर्थ तराईका जिल्लाहरुलाई टुक्राएर छुट्टै राज्य स्थापना गर्नु हो । जुन यसअघि नै उनीहरुले पटकपटक उठाउँदै आएका थिए । तर व्यापक विरोध भएसंगै पछी हट्ने अवस्था बनेको थियो । अहिले पुनः प्रधानमन्त्री ओलीसंगको साँठगाँठमा मन्त्री भएका उनीहरुले यस्ता अभिव्यक्तिहरु दिदा राष्ट्रियतामाथि पुनः घुसपैठको खतरा बढेको छ ।