अर्थनीति

रविको कालोटीका सहकारी, पैसा फिर्ताको पहल सुरु, राज्यको ढुकुटीबाट तिर्न खोजेपछि हल्लीखल्ली (भिडियोसहित)


काठमाडौं— आफ्नै पार्टी सभापति सहकारी ठगी प्रकरणमा जोडिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जति चाँडो सहकारी पीडितको समस्या समाधान गर्छ, त्यति नै चाँडो सभापति रवि लामिछानेले न्यायालयबाट भन्दा पहिला जनताको नजरबाट सफाइ पाउनेछन् । त्यसका लागि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दबाबका बीच पनि आफूनिकट प्रतिभा रावललाई नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरे । ताकि, सहकारी पीडितको समस्या समाधान गरी यथासम्भव ठगी प्रकरणको आरोपबाट मुक्त हुन पाइयोस् । १०० बुँदे चुनावी वाचापत्रमा नै सरकार गठन भएको एक सय दिनभित्र सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने प्रतिबद्धता व्यक्त भएबमोजिम मन्त्रालयले पीडित र सहकारी प्राधिकरणलगायत सरोकारवाला निकायसँग छलफल गरिसकेको छ । गत बिहीबार मन्त्री रावलले सिंहदरबारमा नै बोलाएर यस विषयमा छलफल गरेकी हुन् ।