समाचार

घुसखोरीको विषय उठाउँदा ‘नक्कली च्याट’ बनाएर तर्साउन खोजेको आरोपमा सल्यान प्रशासनका सुब्बा निरज परियार पक्राउ


जिल्ला प्रहरी कार्यालय सल्यानका नायब सुब्बा निरज परियार पक्राउ परेका छन् । जेनजी सल्यानका संयोजक युवराज खड्काले जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा चरम घुसखोरी र मुद्दा मिलाईदिने भन्दै पैसा असुली गरेको विषय आएपछि खबरदारी सार्वजनिक गरेका थिए ।

तर सुब्बा परियारले उल्टै खड्कालाई बल्याकमेलिङ सुरु गरेको र किर्ते काम गरेको आरोप छ । परियारले खड्काका नाममा नक्कली म्यासेन्जर च्याट बनाएर बार्गेनिङ गरेको देखाउन खोजेका थिए । तर त्यो च्याटसहितको विवरण पनि सार्वजनिक गरि खड्काले कारबाहीको माग गरेपछि प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा र जिल्ला प्रहरी प्रमुख डा. हेम केसीले अनुसन्धान गर्ने बताएका थिए । यसै विषयको अनुसन्धानका लागि सुब्बा परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्काले नक्कली काम गर्ने सुब्बामाथि अनुसन्धान गर्न र कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय सल्यान, जिल्ला प्रहरी कार्यालय सल्यान र गृहमन्त्रालयमा उजुरी दिएका छन् । सुब्बा परियारले यसअघि पनि प्रशासनभित्रै पनि पूर्वसीडिओ र कर्मचारीलाई यसैगरि फेक च्याट बनाएर तर्साउने गरेको आरोप छ । त्यतिमात्रै होइन, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीसहितका केही व्यक्तिको समेत बेथितीमा भूमिका रहेको आरोप खड्काले लगाएका छन् । निरजको पक्राउसँगै बाँकी बाँकी सत्यतथ्य अनुसन्धानबाट खुल्ने बुझिएको छ ।