विचार

६ दशक जिन्दगी


भीम राई

बाल्य काल,

२०२२ साल बैशाख ९ गते मेरो जन्म बुईपा, खोटाङमा भएको थियो । मेरो बाजेको नाम निर्धक राई हो । बाजेसँग मेरो भेटघाट त हुन सकेन । उहाँका पाँच भाई छोरा र तीन बैनी छोरीहरु थिए । जसमध्ये मेरो बाबु काईला भाई हुन् र उहाँको नाम पन्चशेर राई हो । म जन्मनुभन्दा अगाडि मेरो बाबुबाट पनि पाँच भाई छोरा र पाँच बैनी छोरीहरु जन्मेका थिए ।

त्यसपछि ठूली आमाको मृत्यु भयो । उनको मृत्यु भएको दुई बर्ष पछि बाबुले ६० बर्षको उमेरमा मेरी आमालाई बिहे गर्नु भएको थियो ।

मेरी आमाको माइतीघर घर हलेसी, रातमाटे हो । जुन खोटाङ जिल्लामा नै पर्छ । आमाले पहिले बुईपा, टारीमा बिहे गर्नु भएकँे रहेछ र उहाँको श्रीमानको मृत्यु भएपछि पुनः दोश्रो बिहे गर्नु भएको हो । आमाको बिहेपछि म र बैनी जन्मेका थियौं र उनी मभन्दा दुई बर्ष कान्छी हुन् ।

म जन्मदा कान्छा दाजूको बाहेक सबै दाजू र दिदीहरुको बिहे भैसकेको थियो । त्यसपछि उहाँहरु छुट्टिएर आ–आफ्नो घरमा बस्नु हुन्थ्यो । म पाँच बर्षको उमेर हुँदा कान्छा दाजूले पनि प्रेम बिबाह गर्नु भयो । उहाँको बिहे भएपछि परिवारमा सानातिना खटपटहरु सुरु हुन थाल्यो । त्यसैले एकैघरमा बस्न सकेनौं । त्यसपछि हामी घरको सिधै अगाडि मतानमा सर्यौ । त्यहाँ पनि बस्न उपयुक्त्त वातावरण नभएपछि अर्को बर्ष हामी त्यहाँदेखि फेरि सधैको लागि निस्केर हिड्यौं ।

मेरो लागि सबैभन्दा ठूलो दुर्भाग्य के थियो भने बाबुले म जन्मनुभन्दा अगाडि नै दाजूहरुलाई खेतबारि अंशबन्डा गरि दिनुभएको थियो । बुढेसकाल लागि हाल्यो, कसो एउटा छोरा र बुहारीले त नपाल्ला र, भनेर आफूलाई केहि राख्नु भएको थिएन । तर समय परिवर्तन हुँदै जाँदा स्थिति सोचेको जस्तो ठ्याक्कै भएन । बाबुले अचानक दोश्रो बिहे गर्नु भएको रहेछ । त्यसपछि हामी दुईजना जन्मेका थियौं ।

हामी त्यसरि घर छाडेर निस्कँदा हाम्रो अन्त कतै जाने ठाउँ थिएन । तैपनि गाउँको एकजना दयालु दाजूले ऋणमा भएपनि एक फोक्टा बारी दिनु भयो । तिनै जुमेम्पा बारीमा बाबुले एउटा चित्रे गोठ बनाउन थाल्नु भयो । गोठ बनेपछि हामी त्यसलाइ आफ्नो भविष्यको सुन्दर महल ठान्यौं र आ–आफ्नो सरसामान कुम्लो पारेर बाबु, आमा र बैनी त्यतै सरेका थियौं ।

जब म ६ बर्षको भएँ । मैले जीवनमा पहिलोचोटि स्कूल सुरु गरेको थिएँ ।

स्कूल एउटा पिपलको फेदमा थियो । पिपलको वरिपरि ढुँङ्गा बिछ्याएर बिधार्थी बस्ने चौतारी बनाइएको थियो । हामी त्यहिँ जम्मा भएर बस्थ्यौं । जमाना अहिले जस्तो थिएन । त्यसबेलासम्म म कट्टु पनि लगाउँदिनथे । ठूल्दाजूको छोरी टीकाले थोत्रो कपडा खोजेर मलाई एउटा कालो भोटो सिलाई दिएकी थिइन र म जहिले पनि त्यो भोटो नै लगाउने गर्दथे ।

अहिलेसम्म पनि ति सम्झन लायकका क्षणहरु मस्तिष्कमा ताजै छन् । भोटोको दायाँबायाँ सानासाना गोजीहरु थिए । म गोजिमा बासि ढिडो बोक्थें । अनि फङलङ फङलङ हिड्दै स्कूल जान्थे । जब भोक लाग्थ्यो, त्यहि ढिडो खान्थें ।

स्कूल त जान थालें तर मसँग कापी कलम केही पनि थिएन । कुनैकुनै बिधार्थीहरुले खरि र पाटी ल्याउँथे । तिनै कालो पाटिमा उनीहरू ‍ठुलो ठूल्ठूलो अक्षरहरू लेख्थे । म चाहिँ उनीहरुले के लेखेको होला भनेर तीन दङ्ग पर्दै रमिता हेर्थे । हुन पनि ज्यादै लन्ठुराम थिएँ । त्यसैले केही बुझ्दिन थिएँ । हुनत के पढ्नु पर्छ भनेर मलाई केही पनि थाहा थिएन । झन ध्यान दिएर पढ्नै पर्छ भनेर मलाई कसैले जब्बरजस्ति पनि गर्दैनथे ।

म सम्झन्छु । गाउँको ती मास्टरले अलि अलि पढेका थिए होला तर मलाई पछि थाहा भयो । उनका तलव सुविधाहरू केही पनि थिएन रहेछ । गाउँलेहरुले भनेर उनले पढाउने भोलन्टियर काम गरेका रहेछन् । त्यसैले उनी मन लागेको बेला यसो एक–दुई घन्टा स्कूल आउँथे । तर खेती गर्न व्यस्त भएको समयमा उनी आउँदैनथे ।

मास्टर नआएको दिन स्कूलबाट चाँडै घर फर्कन्थ्यौं । त्यसरी घर फर्कदा पहिले गल्लिको बाटो उकालै उकालो त्यसपछि बारिको कुना–कुना हिँड्नु पर्थ्यो । अलिक अगाडि हिँड्दै जाँदा सानो गोरेटोको बाटो भेटिन्छ । गोरेटोको दायाँ बायाँ सिवालीका झ्याङहरु थिएँ । तिनै सिवालीको झ्याङहरुमा साथिहरुसँग निक्कै बेरसम्म पिङ खेल्थौं र रमाइलो गर्थ्यौ ।

मास्टर आए वा नआए पनि म क्रमशः दुई हप्ता जति स्कूल गएँ । स्कूलमा पुगेर दिनभरि चिसो ढुगाँमा बस्थे । तर त्यसरि ढुङ्गामा बस्दा बस्दा बिरामी भएँ । त्यसपछि मैले सधै सधैको लागि स्कूल छाडें । छ महिना जति थला परें अनि स्कुल जान काबु भएँ ।

त्यहाँदेखि मेरो दिनचार्य फेरिएर आयो । हामीसँग गोठमा तीनवटा बाख्राका माउँहरु थिए । ती बाख्राहरु आमाले आफ्नो माइतीघर हलेसीबाट ल्याएकी थिइन । अलिक सन्चो भएपछि म बाख्रा गोठालो गर्न दिलुङ्मा र कागुने बन जङ्गल जान थालें ।

सम्पत्तिको नाममा ती बाख्राहरु बाहेक अरु केही थिएनन् । ऋणमा किनेको जुमेम्पा बारी थियो । जहाँ हामी गोठ बनाएर बसेका थियौं । खेतबारी केहि पनि थिएनन् ।

“भलेम्पा बुढेसकालमा सार्है दुःख पाए । तिम्रो कुवापानी खेत अधिया कमाएर खान पर्यो,” एकदिन बाबुले भलेम्पा बाजेसँग खेत कमाउनको लागि बिनम्र अनुरोध गर्नु भयो । गाउँमा उनको जग्गा प्रशस्त थियो । तर हुने हुनामी कसैले टारेर टर्दैनथ्यो । उनका दुई–दुई जना श्रीमतीहरु थिए । दुवैजना परलोक गइसकेका थिए । म सँगैको एकजना छोरा थिए । ऊ बाहेक अरु सबै छोरीहरु बिहे गरेर आ–आफ्ना घर गइसकेका थिए । काम गर्ने मानिसहरु कोहि पनि थिएनन् । त्यसैले अधिया कमाई खानको लागि उनले हामीलाई जग्गा दिनु भएको थियो ।

बाबुले खेत मागेपछि हामी तिनै खेत कमाउन थाल्छौं । तर घरमा एकहल गोरु पनि थिएन । बर्खाको समयमा सबैको खेत रोपिसकेपछि गाउँलेहरुसँग गोरु माग्थ्यौं र धान रोप्थ्यौ वा मकै छर्थ्यौं । बाख्राहरु बाहेक घरमा गाईवस्तुहरु केही थिएनन् । त्यसैले प्रशस्त मल पनि हुदैनथ्यो । अझै उचित समयमा खेतिपाती नगरेकोले त्यति धेरै अन्न फलाउन सक्दैनथ्यौं ।

खेतिपाती बाहेक बाबुले गाउँमा झारफुक गर्नु हुन्थ्यो । भनौं, उहाँ गाउँमा सानो स्तरको धामी हुनुहुन्थ्यो । कोहि मानिसहरु बिमारि हुँदा घरचिन्ता बसिदिनु हुन्थ्यो । धामी बस्ने बेलामा ढ्याङ्ग्रो र झोला बोकेर म बाबुको सहयोगी जानु पर्थ्यो । धामीको सहयोगीलाई चामलिङहरुले “कक्षारिपा” भन्ने गर्थे । अलिक कुरो बुझ्ने भएपछि मलाई कक्षारिपा जान लाज लाग्न थालेको थियो । त्यसैले कक्षारिपा जाँदा कसैले नदेखोस है भनेर गोरेटो बाटो प्रयोग गर्दिनथें । खेतबारिको कुना कुना हिड्ने गर्थे ।

घरचिन्ता बाहेक किराँतीहरुले हरेक छ छ महिनामा उधौली र उभौलीको आजापुजा गर्थे । त्यसरि पुजा गर्दा मानिसहरुले अलिअलि धान, मकै र कोदो उपहार स्वरुप प्रदान गर्थे । मैले बोक्न सक्ने एउटा ठीक्ठीक्कैको झोला थियो । पुजा सकिएपछि तिनै झोलामा फुरुङ्गै मन सहित एक झोला अन्न बोकेर म हाम्रो गोठमा पुग्थें ।

त्यहाँ पुगेपछि आमालाई, “आमा १ यी हेर्नोस त कति धेरै अन्न ल्याएर आएको छु,” हसिलो मुद्रामा आमालाई सुनाइ हाल्थें । मेरो कुरो सुनेर आमा पहिले खुसि हुनुहुन्थ्यो तर जब मकै र धान एउटै झोलामा मिसिएको देखिएपछि छुट्टाउन दुःख हुन्छ भनेर उहाँको मन खिन्न हुन थाल्थ्यो ।

स्कूल छाडेपछि म प्रायः हरेक दिउँसो बाख्रा गोठालो जान थाले । दिनभरि जङ्गलमा बाख्रा चराएर बेलुकिपख खोरमा थुनेपछि खेल्ने साथीभाईको खोजिमा गाउँघर चाहर्न थाल्थें । दुई चार महिनापछि, “ए केटा, के लुखुर लुखुर भुस्याहा कुकुर जस्तो गाउँघर कति डुलि हिड्छस् । मेरो छोरो त सरासर स्कूल जान्छ । तँ किन जाँदैनस् रु अर्को बर्षदेखि फेरि स्कूल जा,” ठूल्दाजूले मलाई गालि गर्नु हुन्थ्यो ।

“दाजै बिरामी हुन्छु र जान्न,” छुरी झै लाग्ने मुख फर्काउँथे ।

जहाँ भेट्यो त्यहिँ हप्काइ खान थालेपछि, आ…होस् अब फेरि पढ्नको लागि स्कूल जान्छु भन्ने सोचें । त्यसैले फेरि पढ्नको लागि स्कूल जान सुरु गरें । स्कूलमा एक बर्ष जति समय त्यतिक्कै हल्लिएर बिताए । त्यसपछि केहि सिक्न त सिकेको थिइनँ । त्यतिक्कै एक कक्षा चढिहालें ।

तर अर्को बर्ष मेरो पाता फर्क्यो । किनभने मास्टरले अबदेखि उसो शुल्क लाग्छ भनेर स्कूल शुल्क माग्न थाल्नु भयो ।

“आमाले हाम्रो त पैसा सैसा केही पनि छैन् । त्यतिक्कै पढ्नु भनेकी छिन्,” भनेर मास्टरलाई छोटो जबाफ फर्काइ दिएको थिएँ ।

“त्यसो हो भने केटा तँ कक्षा चढ्न त पाउँदैनस्,” मेरो कुरा सुनेर मास्टरले त्यति भने ।

प्रतिउत्तरमा, “हुन्छ, सर,” भने ।

अर्को बर्ष पनि सोहि कक्षामा पढें । हुनत राम्रो कुरा के थियो भने घरमा छोरा कति कक्षामा पढ्छ वा के पढ्छ भनेर आमा बाबुले मलाई सोध्नु हुँदैनथ्यो । किनभने उहाँहरु दुवै जनालाई कालो अक्षर भैँसी बराबर थियो । यधपि मैले प्राइमरी स्कूलमा चार बर्ष समय लगाएर मुस्किलले तीन कक्षा उतिर्ण ‍गरें । त्यसपछि गाउँको प्राइमरि स्कूलदेखि बिदा भएँ र बुईपा बजारको हाईस्कूलमा जान थालें ।

बुईपा बजार नजिकै पन्चरबाटो भन्ने ठाउँ रहेको छ । तिनै स्थानमा हरेक औंसी पूर्णेमा हटिया लाग्ने गर्थ्यो । एक दिन हटियामा पुगेर जिन्दगीमा पहिलो चोटी एउटा ‘बन्दना” कापी र एउटा पेन्सिल किनेको अहिलेसम्म मेरो दिमागमा अमिट छाप बनेर बसेको छ । त्यहिँ कापी र पेन्सिललाई म हरेक दिन बोक्ने गर्थें र लुरुलुरु स्कूल जानको लागि घरदेखि उकालो चढ्थें ।

आमाले, “हामी एकदम गरिव छौ र गाउँमा गरिवको बोलि बिक्दैन । हामीले जतिसुकै सत्य कुरा बोलेता पनि हाम्रो समाजले असत्य ठहर गर्छ । छोरा १ यस संसारमा अरु केही चिज हुँदैन । केवल पैसाको मात्र आवाज हुन्छ । आम्का खाबा पनि पैना । फारो ङालो,” पटक पटक कापी किन्ने पैसा नभएकोले फारो गरेर लेख है भनेर अन्तिममा चाम्लिङ भाषा थप्दै उक्त कुरा भन्नु भएको झलझली याद गर्छु ।

उहाँले पर्वते भाषा त्यति धेरै बोल्न जान्नु हुँदैनथ्यो । ठीकठीकै बोल्नु हुन्थ्यो । अझै उहाँको माईती घरमा त झन मानिसहरु चामलिङ भाषा (ईला) बाहेक अरु कुनै भाषा बोल्दैनथे । आमाले त इला बोल्नु भयो भयो । झन बाबु त धामि मान्छे । आफ्नो मौलिकपन छाड्नु हुँदैनथ्यो । त्यसैले पर्वते भाषा बोल्दै बोल्नु हुन्नथ्यो ।

हाम्रो घरदेखि बुईपा हाई स्कूल जानको लागि निक्कै धेरै उकालो चढनु पर्छ । त्यो बाटोलाई राजा महेन्द्रले घोडादेखि सवारी चलाएका मूलबाटो हो है भनेर मानिसहरुले चिन्नेजान्ने गरेका छन् । तर खेदको कुरो के छ भने खेतबारीमा काम गर्ने किसानहरुले त्यो बाटोभरि मसिनामसिना ढुँगाहरु फालेर ओइरो ओइरो थुपारेका छन् । ढुङ्गै ढुङ्गा भएको त्यस ढुङ्गे बाटोलाई मूलबाटो पनि के भन्ने र खै, ढुङ्गाघारी भन्दा खास्सै फरक पर्दै पर्दैन ।

अझै बाटोको दायाँबायाँ घँघरुको बिरुवाहरु रोपेर बारीहरुको बार लगाइएका छन् । कुनै कुनै किसानहरुले त्यसको काँडाहरु काटेर बाटामा मिल्काइ दिन्छन् । सुकेका घँघरुका काँढाहरु सियो जस्तै तिखातिखा हुन्थे । त्यस्तो काँढैकाँढा भएको स्थानमा नाङ्गो खुट्टाले टेकेर हिँड्नु पर्थ्यो । धन्न त्यस्तोमा हिँड्दा हिँड्दा खुट्टाका पाइतालाहरु गल्लीको दर्क्षिण ढुङ्गाहरुभन्दा कडा भैसकेका थिए । त्यसैले केहि हुँदैनथ्यो । नत्रभने कति कष्टकर जिन्दगी हुन्थ्यो होला ।

म तिनै मुलबाटोमा पसिना पसिना भएर हरेक बिहान नाङंगो खुट्टा स्कूल पुग्थे । मेरो नाङ्गै खुट्टा देखेर स्कूलमा जुत्ता वा चप्पल लगाइरहेको साथीभाईहरुले मेरो खिल्ली उडाउथें, र बेस्मारि हास्थे । उनीहरुको त्यस्तो हरकतले मलाई हल्का लज्जाबोध हुन्थ्यो । अनुहार निन्याउँरो पार्थें । कस्तो हिनताबोध हुन्थ्यो ।

मेरो पढाइको लागि स्कूलको वातावरण त्यति उपयुक्त छँदै थिएन । बरु एकदम अपमानजनक भएर समय बितिरहेको थियो । अझै हरेक महिना मर्दै जाँदा शुल्क तिर्ने हैसियत पनि मसँग छँदै थिएन । मास्टरहरुले शुल्क नतिरेपछि हाजिरी खाताबाट नाम मेटि दिन्थे । हाजिर गर्ने समयमा आफ्नो नाम नआउँदा साथीहरुले कर्के नजरले हेर्ने गर्थे । मास्टरहरुले जुन दिन शुल्क तिर्छस् । त्यस दिनदेखि फेरि पढन आउनु है भनेर अमिलो सल्लाह दिन्थे ।

अझै घरको स्थति अति दयनिय थियो । त्यस्तो अवस्था देखेर म आमा बाबुलाई पैसा माग्न पनि सक्तिनथें । त्यसपछि फेरि मैले नराम्रो निर्णय लिएँ र स्कूल जान छाडें । स्कूलमा राम्ररि पढने वातावरण नमिलेपछि बरु हलि भएर जिवन बिताउने रहर गरे । लगभग १३ बर्ष पुगिसकेको थिएँ । तर म मज्जाले गोरु जोत्ने हलि भैसकेको थिए । अरुको गोरु ल्याएर भएपनि खेतमा दगुराउन खुव मज्जा मान्थें । नत्रभने अरुको खेतमा गएर भएपनि गोरु दगुराइहाल्थेँ।

बर्षा सकियो र हिँउद लाग्यो । त्यसपछि कुनैबेला स्कूल गएँ, कुनैबेला गइनँ । तर हिँउदको समयमा घास दाउरा गर्नको लागि बन जङ्गल चाहर्न थालेँ । भारि बोक्न अनुभवि हुँदै गएपछि पहिलोचोटि बुईपादेखि बेलटारसम्म झरेँ । घर फर्कदा अलिकति नुन, तेल र मरमसला बोकेर फिरेँ ।

सोहि हिँउदमा एउटा अपृय घटना घट्यो । हाम्रो गाउँमा भलेम्पा बाजेको अचानक मृत्यु भयो । उनको मृत्युले हामीलाई ठूलै दशा निम्त्यायो । उनको मृत्यु भएपछि उनको छोराले हामीले खाँदै गरेको खेत पनि बेचि दियो । हामीले अधिया खादै गरेको खेत बिक्रि भएपछि उसै त सुकुम्बासी थियौं । झन शून्य स्थानमा झरि हाल्यौं ।

हाम्रो त्यस्तो नाजुक अवस्था देखेर कसैकसैले मोहियानि हक लगाउन पर्छ भनेर सल्लाह दिन थाले । यदी त्यसो हो भने हामीले पनि केही रकम पाउन सक्छौ, उनीहरुले भन्थे । तर कसैले मुद्दा गर्ने काम झमेला हो । केटाकेटीहरु स(साना छन् । झन खर्चबर्च लाग्छ । फेरि बुढाबुढी पटक्कै पढालेखा छैनन् । कागजपत्र गर्नको लागि दिन माया मारेर जिल्ला सदरमुकाम दिक्त्तेल जानु पर्छ । त्यहाँ पुगेर वकिल खोज्नु पर्छ । हुने नहुने कागजपत्र गर्नु पर्छ । बुढाबुढी दुवै जनाले अक्षर चिन्नु सक्नु हुन्न । गल्ति ठाउँमा औंठाछाप लगायो भने झन दुःख हुन्छ, भनेकासम्म सुनियो । त्यसैले धेरैजनाको कुरा सुनेर अन्याय सहेर चुपचाप बस्यौं तर केही गर्न सकेनौं ।

३४ सालको कुरो हो । गाउँमा ठूलो खडेरि लागेको थियो । त्यस साल कसैको पनि खेतिपाती राम्रोसँग हुँदै भएन । हाम्रो त झन खेत नै थिएन । त्यसैले अनिकालको महामारी चल्यो । महामारीमा सबैभन्दा बढि असर हामीलाई नै पर्यो । तर सरकारले बिकासे चामल फत्तेपुरमा खोल्दै छ । अनि त्यहाँ गएर जस्ले जे जति बोक्न सक्छ, त्यति बोक्न पाइन्छ । बोकेर ल्याएको आँधा भाग दिक्त्तेलमा बुझाउनु पर्ने र आँधा आफूले राख्न पाइने कुरो सुनियो ।

त्यो सुनेपछि मैले पनि एउटा ढाकर खोजें र चामल बोक्न जानको लागि तयार भएँ । किनभने आमा र बाबु अलिक बुढाबुढी नै हुनुहुन्थ्यो । बैनी चाहिँ अलिक सानी नै थिइन । त्यसैले परिवारमा चामल बोक्न जानको लागि सबैभन्दा उपयुक्त व्यक्त्ति म नै परें ।

अर्को दिन तिनै पुरानो ढाकर बोकेर फत्तेपुरको लागि बाटो तताएँ । रित्तै हिँडेर फत्तेपुर झरि पुग्न तीन दिन समय लाग्यो । तर एक ढाकर चामल बोकेर गाउँ फर्किन भने सात सात दिन समय लागेको थियो । घर फिरिसकेपछि आँधा चामल आमालाई बुझाइ दिएँ । बाँकी आँधा चामल दिक्त्तेलको सरकारी कार्यलय दुई नम्वर गोदाममा लगेर बुझाइदिएँ ।

हाम्रो गाउँदेखि निक्कै टाढा अर्खौले भन्ने गाउँ पर्छ । सरासर हिँडेर त्यहाँ जाने हो भने लगभग ५ घन्टा जति समय खर्च गर्नु पर्ने हुन्छ । त्यहाँ हरेक सोमबार हटिया लाग्ने गर्दथ्यो । तिनै हप्ता दिने हटियामा आमाले अलि अलि चामलको ब्यापार गर्नु हुन्थ्यो । चामल बेचेर आएको नाफा पैसाले अलिकति नुनतेल र मरमसला किन्नु हुन्थ्यो । चामल ब्यापारको लागि धान किन्न आमा साप्सु खोला पारिसम्म जानु हुन्थ्यो । धेरैजसो समय धान खरिद गर्नको लागि उहाँ एक्लै जानु हुन्थ्यो । नत्रभने बुढी भैसकेकी आमालाई भारी बोक्न सघाउनका लागि म पनि समय समयमा जाने गर्थेँ ।

आमासँग दुई दिन जति समय लगाएर हामी धान किनेर घरमा ल्याउथ्यौं । त्यसपछि धान सुकाउने, कुटने र निफन्ने काम आमाले नै गर्नु हुन्थ्यो । तर आमालाई धान कुट्न बैनी र मैले समय समयमा सघाउने गर्थ्यौं । तर सबैभन्दा दुःखद पक्ष के थियो भने हाम्रो घरमा ढिकीजाँतोको केही बन्दोबस्त थिएन । त्यसैले अरूको घर घरमा गएर ढिकी कुट्नु पर्थ्यो । यदि उनीहरुले ढिकी कुटिरहेका छन् भने कुनैबेला घन्टैसम्म पालो पर्खेर बस्नु पर्थ्यो ।

धान कुटेर गोठमा फिर्थ्यौ । गोठमा फिरेपछि आमाले चामल टुक्रिएर बनेको कनिकाको खोले पकाइ दिनु हुन्थ्यो । बैनीसँग खुसिको साथ खान्थ्यौं । छाक टार्थ्यौ र यस्तै यस्तै तरिकाले जीवन गुजारा गर्थ्यौं ।

जब म १६ बर्षको भए, “बुढेसकालको छोरो, अब लाठे भयो । पैसा कमाउन मुग्लान जान सक्छ ।”

माथिलो घरको काकाले हाम्रो घरमा झरेर भन्नु भएको अहिले झै लाग्छ । खेदको साथ भन्नु पर्छ । काका त अहिले हामीसँग यस धर्तीमा हुनहुन्न । तैपनि उहाँको भनाइ अहिलेसम्म म झलझलि सम्झिरहन्छु । तिनै काकालाई उत्तर दिने क्रममा बाबुले, (

“हो नि १ अब त केटा हुर्कि हाल्यो । मानिसहरुले बुढेसकालको छोराले के गरि खान्छ होला भन्थे । केटाले पछि केही गर्छ होला रु” बाबुको मुखदेखि निस्केका आशाका किरणहरु हावामा बिलिन हुनुभन्दा अगाडि नै मेरो मस्तिष्कमा बास बसिसकेको थियो ।

नभन्दै बाबुको कुरा सुनेर म कहिलेकाहिँ फुरुक्कै फुर्किन्थें । किनभने घरको अवस्था अति नै दयनिय थियो । त्यसैले मनमनै केही न केही गर्नु पर्छ भन्ने विचार मलाई लागिरहन्थ्यो ।

अर्को हिँउद लाग्यो । एक बेलुकिपख लेक्पा गाउँमा गएँ र माईली नानाको घरमा बसें । त्यहाँ छँदा दुई तीनजना साथीभाईहरुसँग मिलेर सरसल्लाह गर्यौ र उनीहरुसँग धरान धनकुटा बाटो खन्नको लागि जाने भयौं । हुनत पटक पटक घर छाडेर बेलटारसम्म झरेको थिएँ । अझै त्यहाँ झरेर गोरुगाडासम्म चँढेको मसँग दर्विलो अनुभव थियो । बेलटारमात्र नभएर चामल बोक्न एकचोटि फत्तेपुरसम्म पुगेको कुरो केही समय अगाडि माथि नै बर्णन गरिसकेको छु ।

त्यसबेला साथीहरुसँग मिलेर फेरि फत्तेपुर झरें । र, त्यहाँदेखि जीवनमा पहिलोचोटी बिजय बस चँढें । अनि धरान धनकुटे सडक खन्नको लागि धरानको यात्रा सुरु गरें ।

झमक्कै साँझ पर्नै लागेको थियो । भानुचोक बस स्टेसनमा गाडीहरुको हर्न बाहेक रुखको हाङगामा चराचुरुङगिहरु बास बस्नको लागि कराई रहेका मज्जैले सुन्न सकिन्थ्यो । मनभरि नानाथरीका तरङ्गहरु सहित जीवनमा पहिलोचोटि धरान झरिपुगेको थिएँ । एक पटक लामो हर्न बजाएर बस रोकिएपछि सुस्तरि बसदेखि झरें र भानुचोकमा पहिलो पाइला पारें ।

गाउँमा हुर्केदै गरेको बेरोजगार म डुकुलन्ठ्याउ नै थिएँ । भनौं, सहर कहिले नदेखेको मान्छे हुँ, म । त्यसैले मैले जे देखे, त्यो नै रमिता लागिरहेको थियो । अनि म भावुक मुद्रामा सहरको सुन्दर दृश्यले अचम्मित भइरहेको थिएँ । अझै निक्कैबेर टोलाएर उँभोउँभो कोशी राजमार्ग हेरिरहन्छु । र, तिनै राजमार्ग किनारमा भएका अग्ला अग्ला घरहरुसँग मन्त्रमुग्ध भैरहन्छु ।

तर अचानक मेरो ध्यानलाई भङ्ग गर्दै, ( “यहाँदेखि दाहिने तिर जानु पर्छ,” एकजना साथीले सुस्तरि भने । किनभने ऊँ पहिले नै धरान झरिसकेका थिए । र, धरानको बिषयमा उनलाई राम्रै ज्ञान छ भन्ने कुरो मलाई पूर्ण बिश्वास थियो ।

उनले त्यति भनेपछि ऊँ अगाडि अगाडि हिँड्न थाल्यो र हामी उनको ठीक पछाडि पछाडि हिँडन सुरु गर्यौं । आ–आफ्नो झोला बोकेर उनले भने बमोजिम चोकदेखि पहिले दाहिनेतिर लाग्यौं र केहीबेर सडकको छेउँछेउँ हिँड्यौं । त्यसपछि फेरि अर्कोचोटी दाहिनेतिर मोडिएर एउटा घरको ठीक अगाडि पुग्छौं ।

त्यहाँ पुगेपछि मैले त्यो घरलाई एक झलक मज्जाले नजर मारे । घरको छानो सेतो टिनले छाएको थियो । तर टिन पुरानो भएर खिया परिसकेका दुःखद दृश्य देखिन्थ्यो । बेलुकिपखको अध्याँरोले धर्तीलाई चुम्न थालेको थियो । घरको ठीक अगाडि एउटा मृत खहरे खोल्सा थियो तर त्यहाँ पानी बहिरहेको दृश्य देखिँदैनथ्यो । म तिनै बिरमाईलो दृश्यसँग रुमलिरहेको थिएँ । तर हामी तिनै घरको अगाडि पुगेर निक्कैबेरसम्म उभिएपछि “आज यहिँ बास बस्ने हो,” साथीले मलाई सानो स्वरमा भन्यो ।

घर बाहिर कोहीपनि मानिस देखा नपरेपछि यसो चिँहाएर घरभित्रतिर हेरें । किनभने घरभित्रदेखि खल्याङ बल्याङ आवाज आइरहेको प्रस्ट सुन्न सकिन्थ्यो । हामी एकछिन त्यतिक्कै उँभिरह्यौं । कोही मान्छे घरबाहिर ननिस्केपछि एकजना साथीले एकचोटी ख्वाक्क खोक्यो । तर उनीहरुले केही पनि सुन्न सकेनन् । नजिकै बार्दलीमा एउटा गुन्द्री बिछ्याई रहेको देखिन्थ्यो । पहाडदेखि झरेको हुनाले म थाकेको थिएँ । कसैलाई सोध्दै नसोधि तिनै गुन्द्रीमा टुक्रुक बसें ।

चार दिन जतिको हिँडाइले म थाकेर लखतरण परेको थिएँ । गुन्द्रीमा बस्दा बस्दै म कहिले कहिले निन्द्रादेवीको शरणमा परिहाले छु । भरै एक्कैचोटी मध्येरातमा एक पटक ब्यँझिएँको थिएँ । तर त्यसबेला जाडोले मेरो शरिर थरर कामिरहेको थियो । छ्या है १ घरधनीले एउटा ओढ्ने सिरक पनि दिएन छ, मनमनै भनें ।

बिच रातमा एकपटक ब्युँझेपछि जाडोले केहीबेर निन्द्रा लाग्दै लागेको थिएन । तर एकछिनपछि भुसुक्कै सुतेर मरेछु । बिहानपख बिउँझेपछि मेरो साथिले, ( “साहुजी १ तपाइँहरु उठि सक्नु भो जस्तो छ । तपाइँहरुले ओढेको एउटा सिरक मलाई दिनुहोस् न रु एकछिन भएपनि मज्जाले सुत्नु पर्यो ।” साथीले हृदय दुख्ने गरि पहिलो शब्द साहुजीप्रति प्रहार गरि पठाइ दिए ।

उनको कुरा सुनेर साहुजीले घरभित्रदेखि एउटा मैला सिरक निकाल्नु भयो र थपक्कै दिनु भयो । तर मलाई त निन्द्रा पुगिसकेको थियो । त्यसकारण सुस्तरी उँठे र एक पटक जिउँ तन्काएँ । त्यतिबेला साहुजीलाई देख्दा उहाँको पनि पहिले घर बुईपा, खोटाङ नै रहेछ, हिजो साथीले भनेको कुरो पुनः एकपटक मनन गरें । शाक्य थरका तिनै साहुजी बिसौं बर्ष अगाडि धरान बसाई सरेका रहेछन् भन्ने कुरो मेरो साथीले पहिले नै भनेका थिए ।

बिहानीपखको पारिले घामले धरान सहर मुसुक्क मुस्कुराइ रहेको थियो । हातमा नाडिघडि त थिएन तर समय बिहानको त्यस्तै सात बजिसकेको हुनुपर्छ जस्तो लाग्यो । म जुन स्थानमा बसेर टोलाइ रहेको थिएँ, त्यहाँदेखि सुस्तरि उँठे र कसैसँग बोल्दै नबोलि थोरै अगाडि बढें । त्यसपछि मज्जाले दायाँबायाँको रमिता हेर्न थालें ।

गाउँदेखि पहिलो पटक सहर झरेको ठेट्ना थिएँ । त्यसैले हरेक कुरो मलाई रमिता लागिरहेको थियो । जति जति धर्तीमा घामको प्रकाश छरिदै जान्थ्यो । त्यति त्यति मलाई धरानको दृश्य हेर्न रमाईलो लागिरहेको थियो । समयले नेटो काटिरहेको थियो । मेरो आँखा अगाडि स्कूले केटाकेटीहरु देखा पर्न सुरु गरे । मैले त्यसदिन जिन्दगीमा पहिलोचोटि छोरी मान्छेहरुले पतलुङ लगाएको देखेर उदेक मान्दै हेरें । अझै स–साना युवतीहरुले दुई चुल्ठी बाटेर सेतो सर्टमा निलो फ्रक घुसारेर चप्पल ट्याप ट्याप पट्काएको देख्दा अचम्म मानेर हेरिरहें ।

निक्कैबेर रमिता हेरिसकेपछि साथिहरु भएको स्थानमा फर्के । त्यसपछि धरान बजारमा घुम्नको लागि हामी बाहिर निस्किहाल्यौं । दिनभरि बजार घुम्दा कताकता पुगियो, कताकता पुगिएन पटक्कै हेक्का राख्न सकिएन । त्यसरि घुम्दा चार भाई थियौ र निश्चय नै हामी सबैजनाको खर्च त्यति धेरै छँदै थिएन ।

कुन बेला के खाने र कति खाने भन्ने बिषयमा हिजोदेखि हाम्रो अलिक सरसल्लाहा मिलिरहेको थिएन । मानिसहरुले जुनसुकै बिषयमा छलफल र बहस गर्दा संवादमा पुगेता पनि पैसाको बिषयमा अलिक फरक फरक विचार उत्पन्न भइ नै हाल्छ । पैसा खर्चको बिषयमा हाम्रो विवाद संवादमा सकिएन । त्यस बेलुका अलिक उत्कर्षमा नै पुग्यो । आ–आफ्नो मनभरि खटपटि सहित बास बस्न फेरि हामी सोहि बुईपालीको घरमा पुग्यौं ।

भोली बिहान आलिक सबेरै उँठे । चार जनाको विचार नमिलेपछि हामी दुई भागमा बिभाजित भयौं । पिके र म अब उनको दाजू भेटन चन्द्रगढी, झापातिर हुइकिने सल्लाहा गरियो । बाँकी साथीहरुले पनि बिचार परिवर्तन गरे र बेलटार जाने निधो गरे ।

एक एक वटा काँधे झोला भिरेर पिकेसँग दुईजना भानुचोक बस अड्डातिर लाग्यौं । बस अड्डामा पुग्दा, “ए ! पूर्व पूर्व,” भन्ने आवाज निक्कै टाढादेखि नै सुन्न सकिरहेको थियो । त्यो सुन्ने बितिक्कै हाम्रो अभागि पाइतालाहरु तिनै आवाज आएको स्थानतिर लम्किरह्यो । त्यहाँ पुगेर हतार हतार एउटा पूर्व जाने बसमा चढि हाल्यौं ।

बेलुकीपखको समय हुँदा नहुँदै हामी चन्द्रगढी पुगिसकेका थियौ । त्यहाँ पुगेर उनको दाजूसँग रमाईलो भेटघाट गर्यौं । उनले हामी दुईजनालाई बास बस्नको लागि एउटा होटलमा राखि दिए । साइनोले उहाँ मेरी ठूली दिदीको जेठो छोरो हुनुहुन्छ र तत्कालिन समयमा उहाँ नेपाल प्रहरीमा असिस्टेन्ट सव इन्स्पेक्टर (असइ) जागिरे हुनुहुन्थ्यो । तर बातचित मार्ने क्रममा भान्जाले हामीलाई, ( “ल १ म भोलि काठमान्डौ जादैछु । मसँगसँगै तिमीहरु दुईजना पनि आउँनु है,” भन्नु भयो ।

पिकेले दाजूको कुरा भुइँमा खस्ने बितिक्कै सहर्ष स्वीकार गरिहाल्यो । म के गर्ने होला भनेर ठूलो फसादमा परें । बाटो खनेर पैसा कमाउन झरेको मान्छे हुँ । अब कहाँदेखि काठमान्डौ जाने होला भनेर एकछिन सोच्न थालें । फेरि म एक्लै कता गाउँ फिर्ने रु कसरि फिर्ने रु घरमा कति पैसा लिएर आइस भन्दा बाबु आमालाई के भन्ने रु मनभित्र अनेकौ अनुत्तरित प्रश्नहरु दगुरि रहे । त्यति सोचि सकेपछि प्रति उत्तरमा, ( “भो ! म त जान्न हजुर, के जान्थें र र ? ” छोटकारिमा जबाफ फर्काए ।

मेरो कुरो सुनेर भान्जा एकछिन छक्क पर्नु भयो । तर फेरि सोचें । होइन, वास्तवमा धरान त त्यस्तो विचित्रको सहर रहेछ । झन काठमान्डौ कस्तो होला रु अनि यो मेरो लागि राम्रो अवसर पनि हो । जीवनमा घरिघरि यस्तो अवसर जुर्न पनि सक्दैन । त्यसपछि मनमनै काठमान्डौं हेर्ने रहर पैदा हुँदै गयो । फेरि मसिनो स्वरमा, “हस १ हजुर, जान्छु है त,” जबाफ फर्काएँ ।

चन्द्रगढी होटलमा मेजमान खाना खाएर एकरात त्यहिँ बास बस्यौं । बिहानको समय त्यस्तै पाँच बजेको हुनुपर्छ । भान्जा हामी कहाँ आउनु भयो । त्यसपछि हामी बस पार्कमा पुग्यौ । एकछिनमा काठमान्डौं जाने एउटा बस आयो र दुई तीनचोटि लामोलामो हर्न बजायो ।

बस रोकिएपछि भान्जा हाम्रो अगाडि अगाडी र हामी उहाँको ठीक पछि पछि बसभित्र छिर्यौं । अँ…मलाई अहिलेसम्म सम्झना ताजै छ । उहाँ प्रहरीको पोशाकमा नै हुनुहुन्थ्यो र बसभित्र पसेर चालकसँग खासखुस बोल्नु भयो । टिकटको पैसा तिर्नु भयो होला । त्यसपछि हामीलाई बस्नको लागि एक(एकवटा मुढा देखाउनु भयो ।

बसभित्र मुढा पाएपछि खुसिले गदगद हुँदै म थपक्कै मुढामा बसिहालें । त्यसपछि दायाँबायाँ सिटमा बसिरहेका मानिसहरुलाई एक झमट हेरें । सायद पैसा नहुनेहरुले मुढामा बसेर यात्रा गर्ने होला भनेर मनमनै सोचें । तर केहि बोल्दै बोलिन । बरु थपक्कै मुढामा बसेर राजधानीको यात्रा आरम्भ गरें ।

बसदेखि दिनभरि बाइरोडको बाटोमा यात्रा गरेका थियौं । तर त्यसरि यात्रामा कुन कुन स्थान पुगियो वा पुगिएन हामीलाई केही अत्तोपत्तो भएन । तर बेलुकीपख अँध्यारोमा काठमान्डौ सहर पुग्दा मनभित्र कौतुहल लागिरहेको थियो । त्यहाँदेखि एउटा थोत्रो ट्याक्सि समातेर भान्जाले धोबिखोला, मैतिदेवी पुर्याउनु भयो ।

धोबिखोलाको किनारमा उहाँको एउटा कोठा रहेछ । काठमान्डौ पुगेपछि भाडामा लिनु भएको उक्त्त कोठामा हामी पनि बस्न थाल्यौं । तर दुर्भाग्य के भयो भने तीन(चार दिनपछि उहाँ तालिम गर्नको लगि सदर प्रहरी तालिम केन्द्र – महाराजगन्ज जानु भयो । उहाँ तालिममा जानु भएको बेला हामीलाई भेटेर हेरचाह गर्नको लागि माईला भाइँ आउनु पर्ने थियो । उहाँ चरिकोटमा जागिर खानुहुन्थ्यो । तर उहाँलाई त्यहाँदेखि आउन दुई दिन समय लाग्यो । त्यतिन्जेलसम्म हामी काठमान्डौंमा केही खान नपाएर भोकले उडुस भइसकेका थियौ ।

हुनत माइला भान्जा आएपछि हाम्रो भाग्य चम्किहाल्यो । उहाँले पैसा दिनुभएपछि नजिकै दोकानबाट अलिकति बगडाको चामल र मुसुरि दाल किनियो । र, पकाएर अघाइन्जेल खाँदा दशैको तिर्सना मेटिहाल्यो ।

त्यसको भोलिपल्ट यसरि भोकभोकै के काठमान्डौ बस्छौ । दुईजना पहाड फर्किहाल्नु माईला भान्जाले भन्नु भयो । त्यसपछि उहाँले हामीलाई दिउँसो प्रदर्शनि मार्गमा रहेको हङकङ बजार लानु भयो । त्यहाँ पुगेर हामीलाई एक(एकवटा पहेलो भेस्टा, जिन्सको पतलुगँ र एकएक जोर जुत्ता पनि किनि दिनु भयो । जिन्दगीमा पहिलोचोटी नयाँ जुत्ता र कपडा तैपनि काठमान्डौंमा आफ्नै आँखा अगाडि किन्न पाउँदा मन फुरुङ्गै भएर धोवीखोला माथि माथि हावामा उडिरहेको थियो ।

भोलिपल्ट बिहान बस चढँनको लागि हामीलाई बस स्टेसन लानु भयो । बसमा चढदै गर्दा, “मिरचैयामा झर्नु र हिँडेर कटारीको बाटो घर जानु । बाटो चिनेनौ भने बाटैभरि भरियाहरु भेटिन्छन् । उनीहरुलाई पछ्याउँदै पछयाउँदै हलेसीसम्म जानु । तीनदिनसम्ममा त हलेसी पुगिहाल्छौ । त्यसपछि त हराउँदैनौ, चिनिहाल्छौ,” उनले भनेको कुरा बस यात्राभरि मेरो कानमा गुन्जिरहेको थियो ।

क्रमशः अक्सफोर्ड – इगँल्यान्ड