देश

ओली–लेखक बयानको चिरफार, छुट्ने संकेत देखेपछि मुद्दा थप्दै गृहमन्त्री, बादलको गर्जनले छुट्लान् ? (भिडियोसहित)


काठमाडौं— सरकार र सदनमा कतै खोज्दा पनि नभेटिने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक प्रतिनिधि सभा बैठकको पहिलो दिनमै चर्चाको केन्द्रमा रहे । संघीय संसदको बिहीबारदेखि सुरु भएको अधिवेशनको पहिलो दिनको बैठकमा राष्ट्रिय गान सकिनेबित्तिकै ओली र लेखकको गिरफ्तारीविरुद्ध नेकपा एमालेका सांसदहरू उठेर विरोध जनाए । उनीहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै सभामुख अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्ने समय दिए । सांसद बरालको मुख्य आशय नै ओली र लेखक पक्राउको कडा विरोध गर्नु थियो ।
अहिले सडक, सदन, सरकार, सञ्चारमाध्यम, अस्पताल र अदालतसम्मै ओली र लेखककै चर्चा र बहस छ । दलीय हैसियतमा सबैभन्दा पहिला ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई सम्बोधन गरे । यसक्रममा उनले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने प्रतिबद्धता जनाए ।