काठमाडौं— पछिल्लो समय नेपाली समाज व्यक्ति केन्द्रित आलोचना, आरोप–प्रत्यारोप र गालीगलौजतर्फ उन्मुख देखिन्छ । मानवीय संवेदनाको चिरहरण गर्दै दानवीकरण गर्ने प्रवृत्तिले नेपाली संस्कार र समाजलाई दुर्गन्धित बनाउँदै लगेको छ । तर, नेपालमा यस्तो राजनीतिक संस्कार पनि जीवितै छ, जसले कसैको दुःख–कष्टमा मानवीय संवेदनाको कमी हुन दिँदैन । यसको ज्वलन्त उदाहरण पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन गुण्डु पुगेका नेताहरूले प्रस्तुत गरेका छन् । फागुन २१ को निर्वाचनमा पराजित भएको केही दिनमै पिता गुमाएका ओलीलाई समवेदना दिनेहरूको अहिले गुण्डुमा घुइँचो नै लागेको छ । देशका राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू ओली निवासमै पुगेर समवेदना प्रकट गरिरहेका छन् भने कतिपयले विभिन्न सञ्चार माध्यमबाट श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गुण्डु पुगेर पूर्वप्रधानमन्त्री ओलीप्रति समवेदना प्रकट गरे । उनले दिवंगत पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको तस्विरमा माल्यार्पण समेत गरे । यस्तै, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि गुण्डु पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना पति दुर्गा सुवेदीसहित गुण्डु पुगेर ओलीप्रति समवेदना प्रकट गरिन् । भर्खरै निर्वाचनमा पराजित भएका ओलीलाई सान्त्वना दिँदै उनले भनिन्, ‘तपाईँले चुनाव हार्नुहुन्छ जस्तो लागेको थिएन ।’ यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा नवनिर्वाचित सांसद डिपी अर्यालले पनि गुण्डु पुगेर अध्यक्ष ओलीलाई समवेदना प्रकट गरे ।
देश


प्रतिक्रिया