काठमाडौं— नेपाली राजनीतिको मियोका रूपमा रहेको नेपाली कांग्रेस अहिले आफ्नो इतिहासकै कठिन र पेचिलो मोडमा उभिएको छ । प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको अप्रत्याशित हारले कांग्रेसलाई खुम्च्याएर दोस्रो दल मात्र बनाएन, पार्टीभित्रको आन्तरिक कलहलाई समेत सतहमा ल्याएको छ । विशेष महाधिवेशनबाट ‘रुपान्तरण र नेतृत्व’को हुटहुटीसहित बागडोर सम्हालेर चुनावमा होमिएका सभापति गगन थापा स्वयं सर्लाही क्षेत्र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहसँग भारी मतान्तरले पराजित भए । यो थापाको व्यक्तिगत पराजय मात्र थिएन, सिंगो पार्टी नै इतिहासकै कमजोर अवस्थामा पुगेको संकेत थियो । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिट संख्या घटेपछि प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भएका थापाले नैतिकताको आधारमा उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका थिए । यद्यपि, केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकार गरेपछि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । निर्वाचनपछि आफ्नो मौनता तोड्दै सभापति थापाले मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा राजीनामाबारे प्रष्टीकरण दिएका छन् । उनले आफ्नो राजीनामा कुनै हतार, हतास वा दबाबमा नभई विधानअनुसार नै उपसभापति शर्मासमक्ष पेश गरेको प्रष्ट पारे । उनले यो ग्लानीको विषय नभई जवाफदेहीताको अभ्यास भएको बताए । साथै, विशेष महाधिवेशन गरेर कमजोरी भयो कि भन्ने कुरामा आफू कत्ति पनि विचलित नभएको उनको जिकिर थियो । राजीनामा अस्वीकार हुनु अपेक्षाविपरीत भए पनि त्यसलाई संस्थागत निर्णयका रूपमा स्वीकार्नुपर्नेमा उनले जोड दिए ।
देश


प्रतिक्रिया