काठमाडौं— नेपालमा आम निर्वाचन सकिएर नयाँ सरकार गठनको प्रक्रिया चल्दै गर्दा दुई छिमेकी राष्ट्र भारत र चीनको गतिविधिले सशङ्कित हुने वातावरण सिर्जना गरेको छ । करिब दुई–तिहाइ बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा एकल सरकार निर्माणको तीव्र गृहकार्य गरिरहँदा भारत र चीनले नेपाली भूभाग प्रयोग गरेर व्यापार गर्ने अन्तिम तयारी थालेका छन् । यसले सरकार बन्न नपाउँदै छिमेकीसँगको सम्बन्धमा चिसोपना ल्याइदिएको छ । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने लिपुलेक भञ्ज्याङको नाकाबाट नेपाललाई पूर्ण रूपमा बेवास्ता गर्दै व्यापार गर्ने तयारी भएपछि भावी सरकार दबाबमा परेको छ । सरकार गठनपूर्व नै यस्ता गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था बनिरहँदा परराष्ट्र मन्त्रालय सम्हाल्न आउने सम्भावित पात्रबारे चर्चा चुलिएको छ । सम्भावित परराष्ट्र मन्त्रीको दौडमा सबैभन्दा अगाडि शिशिर खनाल देखिएका छन् । पार्टीभित्रको पहुँच, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा खनाल अग्रपंक्तिमा छन् । पार्टीको विदेश तथा पर्यटन विभाग सम्हालेको अनुभवसँगै केन्द्रीय सचिवालय सदस्यको हैसियतले पनि उनी बलिया दाबेदार हुन् । यता, प्युठानबाट निर्वाचित सुशान्त वैदिकलाई अर्थमन्त्री बनाएर स्वर्णिम वाग्लेलाई परराष्ट्रको जिम्मेवारी दिने बालेनको चाहना छ । दक्षिण छिमेकी भारतसँग निकट मानिने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकै सर्कलका कूटनीतिज्ञहरूसँग वाग्लेको राम्रो सम्बन्ध भएका कारण स्वर्णिमले नै परराष्ट्र सम्हालून् भन्ने बालेनको आकांक्षा छ । तर, सभापति रवि लामिछानेले वाग्लेलाई पहिले नै अर्थमन्त्रीको रूपमा घोषणा गरिसकेकाले बालेनको इच्छा पूरा नहुने सम्भावना पनि उत्तिकै छ । यसैबीच, परराष्ट्रमा अमरेश कुमार सिंहको पनि चर्चा छ ।
देश


प्रतिक्रिया