अन्तर्राष्ट्रिय

IRAN-USA WAR : विश्व दुई ध्रुवमा, भीषण आ*क्रमणमा इरान, चीन–रुसकै भित्री सहयोग ?


काठमाडौं— मध्यपूर्वमा जारी युद्ध तेस्रो हप्तामा प्रवेश गर्दा पनि अझै युद्ध रोकिने कुनै संकेत देखिएको छैन । गत फेब्रुअरी २८ बाट सुरु भएको यो संघर्ष अहिले क्षेत्रीय युद्धको रूपमा विस्तार भएको छ, जसका कारण विश्व नै दुई ध्रुवमा विभाजित भएको छ । विशेषगरी विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने होर्मुज जलमार्गलाई लिएर शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीव्र बनेको छ । यसै जलमार्गलाई निसाना बनाएर अहिले इजरायल र इरानबीच भीषण हमला जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला नगरे इरानी ऊर्जा केन्द्रहरु ध्वस्त बनाउने चेतावनी दिएका छन् । ट्रम्पको यो धम्कीपछि इरानले पनि अमेरिकालाई कडा जवाफ फर्काएको छ । इरानले अमेरिका र इजरायलसँग सम्बन्धित क्षेत्रीय ऊर्जा र पानी क्षेत्रहरुमा आफूले पनि आक्रमण गर्ने चेतावनी दिएको हो । इरान समर्थित तस्निम न्युजले एक सैन्य कमान्डरलाई उदृत गर्दै इरानको सैन्य सिद्धान्त रक्षात्मकबाट आक्रामक बनेको र यसका लागि इरानले नयाँ र उन्नत हतियारहरुको प्रयोग गर्ने योजना अघि सारेको उल्लेख गरेको छ । यस्तै, इरानले सो जलमार्ग ‘शत्रु’ बाहेकका लागि खुला रहेको भन्दै ट्रम्पलाई चिढ्याएको छ । संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधि अली मौसवीले आफ्नो देशका शत्रुसँग सम्बन्ध नभएका जहाजहरूले समन्वय गरेर उक्त जलमार्ग पार गर्न सक्ने बताएका छन् । यो जवाफले अमेरिका र इरानबीचको तनावलाई थप उत्कर्षमा पु¥याएको छ ।