अर्थनीति

पेट्रोलमा १५ र डिजल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्यवृद्धि


काठमाडौं— सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा १५ र डिजल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । वृद्धि भएको मूल्य गएरातिबाटै लागू भएको छ ।

अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१ र डिजल तथा मट्टीतेलको मूल्य १५१ पुगेको छ ।

पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।