देश

चलाख प्रचण्ड, पार्टी सकिँदा पनि जिते, ७ सिटमा सीमित, अब रवि–बालेनसँग मिल्लान् कि भिड्लान् ? (भिडियोसहित)


काठमाडौं— २०६३/६४ सालतिर जब पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० वर्षे सशस्त्र युद्धपछि शान्ति प्रक्रियामा आएर पहिलोपटक सार्वजनिक भए, उनलाई हेर्न उर्लिएको जनसागर कुनै चमत्कारभन्दा कम थिएन । ‘प्रचण्ड’ का लागि सडकमा ओर्लिएको जनसागरको त्यस्तै झल्को, यतिबेला रास्वपाका वरिष्ठ नेता बालेन शाहको पक्षमा देखिएको छ । तर, समयको चक्र यसरी घुम्यो कि कुनै बेला देश हल्लाउने तिनै ‘नायक’ आज आफ्नै राजनीतिक अस्तित्व जोगाउन संघर्षरत छन् । ‘जेन–जी’ आन्दोलनकै कारण सिर्जित जनलहरले यो निर्वाचन एकतर्फी जस्तै रास्वपाको पक्षमा ढल्कियो । जसका कारण रास्वपाको सुनामीले यसपटक अधिकांश स्थापित राजनीतिक शक्तिलाई बढारेको छ । २५ घटक मिलाएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावमा हरिबिजोग हुँदा, संयोजक प्रचण्ड भने ‘सेफ ल्यान्डिङ’ खोज्दै रुकुम पूर्वको छहारीमा मुस्किलले जोगिएका छन् । उसो त प्रचण्डले जेनजी आन्दोलनको अपनत्व लिने प्रयास नगरेका होइनन् । उनले हरेक कार्यक्रम र सार्वजनिक अभिव्यक्तिमा समेत आफू नै जेनजीको असली अभिभावक भएको दाबी गर्दै आएका थिए । बेलाबेला सरकारको नेतृत्व गरिरहेकाले जेनजीहरूले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दाहरूमा उनी पनि जवाफदेही हुनुपर्ने हो ।