काठमाडौं— चुनावको प्रचारप्रचार हुँदै गर्दा नेकपा एमालेले यसपटक बहुमत आउने र आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गरेको थियो । तर एमालेले गरेको दाबी वास्तविकतामा परिणत हुने कुरा त परकै रह्यो, आफ्नै गढबाट बढारिँदा इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोरेको छ । यो हारसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । २०७९ को अघिल्लो निर्वाचनमा संसद्को दोस्रो ठूलो दल बनेको एमालेलाई अहिले आफ्नो हैसियत जोगाउन मुस्किल परेपछि पार्टीभित्रै नेतृत्व परिवर्तन र सांगठनिक सुधारको बहस चर्किएको हो । स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि शक्तिशाली पदाधिकारीहरूले नै लज्जास्पद हार बेहोर्दा पार्टीप्रतिको असन्तुष्टि चिर्न ओलीलाई बिदाइ गर्ने तयारीमा नेताहरू जुटेका छन् । ओलीलाई अध्यक्ष बनाउन ठूलो भूमिका निभाएका उपाध्यक्ष विष्णु पौडेलका साथै प्रदीप ज्ञवाली, रघुजी पन्तदेखि योगेश भट्टराई, गोकुल बास्कोटा, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले पार्टीलाई नयाँ सिराबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् । भदौ २३ गतेका घटनाको मुख्य दोषी ओली नै भएको भाष्यका बीच तेस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि एमालेप्रति थप वितृष्णा बढेको र त्यही वितृष्णाले एमालेलाई ठूलो धक्का लागेको पार्टी नेताहरूको विश्लेषण छ । निर्वाचन परिणामको सम्पूर्ण जिम्मेवारी आफैँले लिने भन्दै एकलौटी टिकट वितरण गरेका ओलीलाई अहिले मार्ग प्रशस्त गर्न तीव्र दबाब बढिरहेको छ ।
देश


प्रतिक्रिया