देश

रास्वपाको दुईतिहाइ, गगन हार्दा प्रतिपक्षमा खडेरी, हर्क एक्लै काफी, प्रचण्ड र शाही थपिए (भिडियोसहित)


काठमाडौं— देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकपक्षीय जनादेश पाएसँगै आगामी सदनको सबैभन्दा ठूलो र शक्तिशाली दल बन्ने निश्चित भएको छ । नेपालको शक्तिकेन्द्रमा दशकौंदेखि अड्डा जमाएर बसेका परम्परागत दलहरूले आफ्नो हैसियत जोगाउन नसक्दा त्यो शक्ति केन्द्रमा अब रास्वपा हावी हुने भएको छ । जहाँ सदनदेखि सत्तासम्म रास्वपाकै वर्चस्व देखिनेछ भने देशलाई कुन दिशातिर मोड्ने भन्ने निर्णय पनि रास्वपाले नै गर्नेछ । तर, संसदीय व्यवस्थामा सत्तापक्षको भूमिका जति शक्तिशाली हुन्छ, त्यति नै शक्तिशाली भूमिका प्रतिपक्षको पनि हुन्छ । जहाँ अबको सदनमा रास्वपाको शक्तिलाई सन्तुलित र जनपक्षीय बनाउन चाहिने शक्तिशाली प्रतिपक्षको मुख्य भूमिकामा को रहन्छ भन्ने चासो बढेको छ । कांग्रेस–एमाले जस्ता दलका नेतृत्वदेखि प्रभावशाली नेताहरू नै संसद छिर्न नपाउने भएपछि बहुमतको आडमा गरिने गलत कामकारबाहीको खबरदारी कसले गर्ला भन्ने प्रश्नहरू उठ्न थालेका छन् ।