समाचार

१२औँ महाधिवेशन एनआरएनए युरोपमा उम्मेदवारी घोषणा – राधा सिग्देल (किरण)


काठमाडौं । गैरआवासीय नेपाली संघ को १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ तारिखसम्म आयोजना हुने तय भएको छ गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय महिला संयोजक पदका लागि राधा सिग्देल (किरण) ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आएकी सिग्देलले संगठनमा आर्जित अनुभव, सक्रियता र प्रतिबद्धताका आधारमा उम्मेदवारी दिने निर्णय गरेकी हुन्।

सिग्देलले सामाजिक कार्यप्रतिको आफ्नो निरन्तर लगाव, महिला सशक्तीकरणप्रतिको दृढ विश्वास र प्रवासी नेपाली महिलाहरूको अधिकार, नेतृत्व विकास तथा सहभागिता अभिवृद्धि गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेको बताइन्। आउँदै गरेको एकताको महाधिवेशनलाई लक्षित गर्दै उनले युरोप क्षेत्रभर रहेका नेपाली महिलाहरूलाई एकताबद्ध गर्दै उनीहरूको आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनका अनुसार, युरोपमा बसोबास गर्ने नेपाली महिलाहरूले भोगिरहेका सामाजिक, कानुनी तथा व्यावसायिक चुनौतीहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न समन्वयात्मक र परिणाममुखी कार्ययोजना आवश्यक छ। उनले महिला नेतृत्व विकास तालिम, उद्यमशीलता प्रवर्द्धन, युवा पुस्तासँग सहकार्य तथा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको स्पष्ट पारिन्।

एनआरएनए अभियानमा उनी मिलनसार, समन्वयकारी र सबै पक्षसँग सहकार्य गर्दै काम गर्न सक्ने अभियन्ताका रूपमा परिचित छिन्। संस्थाको हितलाई प्राथमिकतामा राख्दै साझा उद्देश्यका लागि सहकार्य र सहमतिमा आधारित नेतृत्व आवश्यक रहेको उनको धारणा छ। गैरआवासीय नेपाली संघ को १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ तारिखसम्म आयोजना हुने तय भएको छ। उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।