अन्तर्राष्ट्रिय

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, छोरी, ज्वाँइ, बुहारी र नाति पनि मारिए


काठमाडौं— इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ । खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए । इरानी अधिकारीहरूले भने उनी सुरक्षित नै रहेको बताउँदै आएका थिए ।

आज बिहान इरानी अधिकारीहरूले खामेनीको मृत्यु भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको बताइएको छ ।

शनिबार अमेरिका र इजराइलले संयुक्त रूपमा इरानमा हमला गरेका थिए । राजधानी तेहरानस्थित सर्वोच्च नेता खामेनीको घरनजिकै विस्फोटका ठूला आवाज सुनिएको थियो भने धुवाँका मुस्लो देखिएको थियो । खामेनीको निवाससँगै अन्य भवनहरूमा पनि क्षति भएको भिडिओ र तस्बिर सार्वजनिक भएका थिए ।

८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको नेतृत्वमा थिए ।